काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नेपालको होटल क्षेत्रको आम्दानी सन् २०२० मा ९० प्रतिशतले घट्ने होटल एसोसिएसन अफ नेपाल (हान) ले जनाएको छ ।
हालको विश्वव्यापी संकटले सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कुल आयमा करिव ९० प्रतिशतले ह्रास आउने प्रक्षेपण भएको र हालसम्म अस्तित्वमा रहेका होटल उद्योगहरूले सेवा बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।
संघले होटल क्षेत्रलाई संरक्षण गर्न नसकिए सन् २००४⁄०५ को अवस्थाको पुनरावृत्ति हुने संकेत देखिएको पनि जनाएको छ । “सामान्यतः पुराना स्थापित होटलहरूको अधिकतम् व्ययभार श्रमिक व्यवस्थापनमा, नयाँ होटलहरूको ऋण व्यवस्थापनमा र पर्यटकीय स्तरका साना होटलहरूको अत्यधिक खर्च घरभाडालगायत शीर्षकमा हुने हुँदा यो परिस्थितिमा खर्च व्यवस्थापनको सिद्धान्त अवलम्वन गर्दै होटल उद्योगको संरक्षण गर्न अति आवश्यक छ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
होटल उद्योगले नेपालको पर्यटनको विकासमा अतुलनीय योगदान गर्दै मुलुकको अन्तर्राष्ट्रिय पहिचान र गरिमा अभिवृद्धिमा खेलेको केन्द्रीय भूमिका उदाहरणीय रहेको भन्दै संघले अर्बौं रुपैयाँको लागानीमार्फत होटल उद्योगले लाखौंको संख्यामा रोजगारी सिर्जना गरेको तथ्यलाई केन्द्रमा राखी यसले नेपाली अर्थतन्त्र तथा बहुआयामिक क्षेत्रमा निम्त्याउन सक्ने प्रभावको विश्लेषण गर्न विलम्ब नगर्नसमेत आग्रह गरेको छ ।
कोभिड १९ को महामारी नियन्त्रणका लागि नेपाल सरकारले चालेका कदमप्रति होटल संघ नेपालले ऐक्यबद्धता व्यक्त गर्दै यो विषम् परिस्थितिमा होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्दै पूर्ण रूपमा पुनस्र्थापना नभएसम्म श्रमिकहरूको उचित व्यवस्थापन, बैंकको ऋण तथा घरभाडा व्यवस्थापनका साथै विद्युत् महसुल र स्थानीय सरकारको सम्पति करलगायतको उचित व्यवस्थापन गर्ने गरी लिन सरकारलाई संघले आग्रह गरेको छ ।
सन् २००३ देखि सन् २००५ सम्मको दुई वर्षको अवधिमा होटलहरूको कुल आम्दानीमा करिब ५० प्रतिशतले ह्रास आएको र अहिलेको अवस्थाले झन् नाजुक बनाएको संघले जनाएको छ ।