रामहरि श्रेष्ठ
ओखलढुंग । ओखलढुंगामा लकडाउन अर्थात बन्दाबन्दीको समयमा चोरीको घटना बढेका छन् ।
सोमबार राती जिल्लाको एक विद्यालय, सुनचाँदी पसल र दुई स्थानीयको किराना पसलमा चोरी भएको छ । सिद्धिचरण नगरपालिका २ स्थित रक्तमाला आधारभूत विद्यालयमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरासहित विभिन्न शैक्षिक सामाग्री र खेलकुदका सामाग्रीहरु चोरी भएका छन् ।
चोरले रातको समयमा विद्यालयको ताला फोडेर सिसी क्यामेरा र शैक्षिक सामाग्री चारी गरेको एक प्रोजेक्टर तोडफोड गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीवन कट्वालले बताए । उनले विद्यालयको बालकक्षा र प्रशासनिक कक्षा तोडफोड गरेको समेत प्रतिकृया दिए । सोमबार राती नै जिल्ला सदरमुकामस्थित चन्द्र सुनचाँदी पसलबाट सय तोला चाँदी र १५ हजार बराबरको पोते चोरी भएको सञ्चालक चन्दबहादुर विकले बताए । डेरामा बस्दै आएका विकको रातको समयमा पसलबाट चाँदी र पोते चोरी भएको उनले बताए ।
यस्तै सोही दिन बेलुका सिद्धिचरण नगरपलिका १ स्थित सुमन खत्री र नगरपालिका २ का स्थानीय वीरबहादुर कार्कीको किराना पसल समेत चोरी भएको उनीहरुले बताएका छन् । नेपालमा जारी बन्दाबन्दीका समयमा अधिकांश पसल व्यवसाय बन्द हुँदा सोही मौका छोपेर चोरीको घटना बढेकोे हुनसक्ने प्रहरीको अनुमान छ । जिल्लामा चोरीको घटना बढेपछि प्रहरीले मोवाईल गस्ती टोली परिचालन गरी चोरी गर्ने व्यक्तिको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका निरीक्षक मिलन बस्नेतले बताए ।