विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डां शेखर कोइरालाले बहुचर्चिच अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई नेपाल सरकारले जबरजस्त संसदबाट अनुमोदन गर्न नहुने धाराण राखेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीको पूर्ण समर्थन गरिरहेका बेला सोही पार्टीका प्रभावशाली नेता डा. कोइरालाको यस्तो धारणा आएको हो । कृष्णप्रसाद कोइराला गुठीले कांग्रेस नेतृ स्व. शैलजा आचार्यको ११ औं स्मृति दिवसमा विराटनगरमा आयोजना गरेको कार्यक्रममा बिहीबार बोल्दै डा. कोइरालाले भने, “एमसीसी संसदबाट पास गर्नुअघि त्यो सहयोग (आईपीएस)सँग सम्बन्धित छ छैन स्पष्ट हुन आवश्यक छ ।” अमेरिकी सहयोग यदि आईपीएससँग सम्बन्धित छ भने स्वीकार गर्न नहुने डा. कोइरालाको बुझाइ छ । “सहयोग भोलिका दिन सुखद हुन्छ भने लिनुपर्छ,” कोइरालाले भने,” “राष्ट्रियतामाथि प्रश्नचिन्ह खडा हुन्छ भने स्वीकार्नु हुन्न ।”
कुनै पनि संघ, संगठन, व्यक्ति, संस्था वा देशले बिना कारण कसैलाई सहयोग गर्न नसक्ने कोइरालाको कथन थियो । त्यसरी आउने सहयोगमा स्वार्थ लुकेको हुनसक्ने उनको कथन थियो । “५५ अर्ब रुपैयाँको अनुदान त्यो स्वार्थमा छ कि त्यसबारे सर्वप्रथम क्लियर हुनुपर्छ । क्लियर भएर लिंदा हुन्छ,” उनले भने ।
यस्तै अर्को एक प्रसंङ्गमा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा बोलेको जवाफ गैरजिम्मेवारपूर्ण भएको बताए । सरकारले कोरोना उपचारमा १० अर्ब रुपैयाँ खर्च गरेको हिसाब–किताब यतिबेला खोज्ने हैन भनी प्रधानमन्त्रीको संसदमा दिएको जवाफ लज्जास्पद रहेको कोइरालाको भनाइ थियो ।
त्यस्तै कोइरालाले शैलजा आचार्यलाई सरकारको नेतृत्व नदिएर कांग्रेस त्यो बेला चुकेको बताए । “आचार्यलाई सरकारको नेतृत्व दिएको भए आज पार्टीमा यो अवस्थामा आउने थिएन होला,” उनले भने । शैलजा आचार्यलाई नेतृत्व नदिएर त्यसबेला शेरबहादुर देउवालाई पार्टीले सहयोग गरेको थियो ।
आचार्य वीपी कोइरालाको अनुयायी रहेको धारणा राख्दै कोइरालाले शैलजा निडर, साहसिक भएको चर्चा गरे । कार्यक्रममा गुठीकी अध्यक्ष मीता आचार्य, कोषाध्यक्ष मोहनलाल महतो, अग्रज पत्रकार अनन्तराज न्यौपाने, गैरसरकारी महासंघका अध्यक्ष प्रभा अधिकारीलगायतले आचार्यको व्यक्तित्वका बारेमा बोलेका थिए ।