विराटनगर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गरेर आएकी विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्थासहितको नागरिकता विधेयक बहुमतले पास गरेको छ ।
नेपाली काँग्रेस र जनता समाजवादी पाटीका सांसदको असहमतिकाबीच आइतबार बसेको बैठकले सात वर्षपछि मात्रै नागरिकता दिने प्रावधानसहित विधेयक पास गरेको हो ।
दुई वर्षदेखि अड्किएको नागरिकता विधेयक टुंगो लागेको छ, यद्यपी नेपाली काँग्रेस र जसपाले यसको विरोध सुरु गरेका छन् । नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता लिन चाहेमा बैबाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबस गरेको हुनुपर्ने व्यवस्था थप गरेको छ ।
सात वर्ष स्थायी बसोबास गरेको सिफारिस वडा कार्यालयले दिनुपर्ने र विदेशी नागरिकता वा सो सरहको राष्ट्रियता जनाउने प्रमाणपत्र त्यागेको वा बाँकी रहे परित्यागका लागि कारवाही चलाईसकेको हुनुपर्ने प्रमाण आवश्यक पर्नेछ ।
नागरिकले चौतर्फी माग गरिरहेको बेला समितिको निर्णयमा प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (राजपा र समाजवादी) को फरक मत छ । दुई दलले अहिलेको अवस्थामा विवाह गरेर आएपछि अंगीकृत नागरिकता पाउने प्रावधान नै कायम हुनुपर्ने माग गरेका हुन्।