विराटनगर । विराटनगरमा बिहीबार बिहानैदेखि परेको निरन्तरको बर्षाका कारण दक्षिणी क्षेत्रका अधिकांश भागहरु डुवानमा परेका छन् ।
महानगरभित्र नयाँ संरचना निर्माण भईरहँदा पानीको निकास अभावले आकाशबाट परेको पानीले वस्तीका घरहरु डुबानमा परेका हुन् ।
विशेषगरी विराटनगरको दक्षिणी भू–भागमा बिहीबार (आज) दिनभर परेको पानीले वस्तीका घरहरु डुबानमा परेका हुन् ।
विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले दक्षिणी भू–भाग अन्तर्गत विराटनगर–१६ को बर्माटोल, बैंक चौक, भट्टीमोड, दरैयाबस्ती र विराटनगर–१५ को श्रीराम स्कूल दक्षिण पारिजात टोल, इलाका प्रहरी रानी पश्चिम वस्ती डुबानको परेको जानकारी दिनुभयो ।
विराटनगर–१५ का वडा अध्यक्ष अस्लम आलमका अनुसार दक्षिणी क्षेत्रमा पर्ने सबै वडाका वस्तीहरु डुबेका छन् । रानी–धरान छलेन सडकको पूर्व र पश्चिमका बस्ती डुबानको जोखिममा परेका हुन् ।
छलेन सडक र नाला वस्ती क्षेत्रभन्दा उचाईमा निर्माण भएपछि जमेको पानीको निकास बन्द भएको वडा अध्यक्ष आलमको भनाई छ । निकास नहुँदा विराटननगर–१२, १३, १४, १५, १६, १७, १८ को डुबान समस्या दिर्घकालिन देखिने भएको हो । छलेन सडकले पानीको निकास छेक्नु, रेल–वे लाइन र आईसीपीका कारण समेत तल्लो क्षेत्रका बस्तीमाा पानीको निकास रोकिएको छ । विराटनगर–१८ मा जमेको पानीमा डुबेर बिहीबार नै एकजना ७ वर्षीय बालकको मृत्यु भएको छ ।
सडक र नालामा भरिएर समेत पानी वस्तीमा पस्दा घरभित्र समेत पानी भरिएको थियो । पानीले घर डुबानमा परेपछि छोडेर हिड्नुपर्ने अवस्था समेत आएको विराटनगर १३ भेटनरी चौक निवासी गीता ओझाले बताउनुभयो ।
त्यसैगरी विराटनगर ३ , ४, ५, ६ र ८ का वस्ती समेत सामान्य डुबानमा परेका छन् । मेयर पराजुलीले डुबेको क्षेत्रमा तत्काल महानगरपालिकाले स्काभेटर प्रयोग गरेर पानीको निकास खोलेको दावी गर्नुभयो । महानगरपालिकाले तीनवटा स्काभेटर प्रयोग गरेको मेयर पराजुलीको दावी छ ।
विराटनगर क्षेत्रमा भइरहेको सडक निर्माणसगै ढल र नाला निर्माणको काम अब्यवस्थित भएका कारण वर्षाको पानीले निकासविहीन भएपछि वस्तीमै भरिने गरेको छ । केहि घण्टासम्म लगातार परेको पानी सडक, स्कूल, अस्पताल, सरकारी कार्यालय र घरको परिसरमा पोखरीको स्वरुपमा जम्ने गरेको छ ।
तस्वीर ः प्रेम देवान /आवर विराटनगर