मन्त्रीको छड्के बेअसर, कोशी अस्पतालमा चिकित्सकको मनपरी कायमै, बिरामीलाई सास्ती

<span class='c1'>मन्त्रीको छड्के बेअसर, कोशी अस्पतालमा</span> <span class='c2'>चिकित्सकको मनपरी कायमै, बिरामीलाई सास्ती</span>

सोनु साह,
विराटनगर । स्वास्थ्य मन्त्रीको अनुगमन तथा छड्के निरीक्षण हुँदा पनि कोशी अस्पतालको सेवा प्रवाहमा अपेक्षित सुधार हुन सकेको छैन। अस्पतालमा चिकित्सक समयमै उपस्थित नहुने र उपस्थित भएका चिकित्सकसमेत तोकिएको समयसम्म नबस्ने गरेको बिरामीको गुनासो कायमै छ। पटक–पटक मन्त्रीस्तरीय अनुगमन र छड्के निरीक्षण भए पनि अस्पतालको अवस्था उस्तै रहँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ।

कोशी अस्पतालमा चिकित्सक समयमै उपस्थित नहुने समस्या एक दिनको नभई लामो समयदेखि दोहोरिँदै आएको बिरामीहरूको भनाइ छ। अस्पतालको बहिरङ्ग सेवा (ओपीडी), रेडियोलोजीलगायतका विभागमा चिकित्सक समयमै नआउने गरेको गुनासो सुनिने गरेको छ।

दैनिक १ हजार ५०० देखि २ हजारसम्म बिरामी आउने यस अस्पतालमा चिकित्सकको अभावसँगै उपलब्ध जनशक्तिको व्यवस्थापनमा समेत समस्या देखिएको छ। विशेषगरी ओपीडीमा स्वास्थ्य परीक्षण गराउन आउने बिरामी बिहानै अस्पताल पुगेर पालो कुर्न बाध्य हुन्छन्। तर, चिकित्सक समयमै उपस्थित नहुँदा घण्टौँसम्म प्रतीक्षा गर्नुपर्ने र भोकै बसेर उपचार गराउनुपर्ने अवस्था रहेको बिरामीहरूको गुनासो छ।

नियमअनुसार चिकित्सक बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अस्पतालमा रहेर सेवा दिनुपर्ने हुन्छ। तर, चिकित्सक ड्युटी समयमा अनुपस्थित हुने र निजी क्लिनिकमा समेत काम गर्ने गरेको आरोप बिरामीहरूले लगाउँदै आएका छन्। यस विषयमा अस्पताल प्रशासनले प्रभावकारी निगरानी गर्न नसकेको सेवाग्राहीको गुनासो छ।

अस्पताल प्रशासन तथा मेडिकल सुपरिटेन्डेन्टको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको बिरामीहरूको भनाइ छ। एउटै समस्या बारम्बार दोहोरिँदा पनि सुधार नदेखिनुले अस्पतालको अनुगमन, चिकित्सकको उपस्थिति र सेवा व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रभाल झाले दसैँ बिदाका कारण केही चिकित्सक बिदामा गएको र चिकित्सकको अभाव रहेकाले बिरामीको चाप व्यवस्थापनमा समस्या भएको बताएका छन्। यस विषयमा अस्पताल प्रशासनको ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिएका छन्।

चिकित्सक अभाव पूर्ति गर्न विज्ञापनसमेत खुलाइएको र नयाँ जनशक्ति व्यवस्थापन भएपछि क्रमशः समस्या समाधान हुँदै जाने उनको भनाइ छ। यता, निजी अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको चाप थप बढेको छ। बिरामीको चाप बढ्नुले सेवा प्रवाहमा प्रभाव पर्न सक्ने भए पनि उपलब्ध जनशक्तिको प्रभावकारी परिचालन र चिकित्सकको नियमित उपस्थितिको सुनिश्चितता गर्नु अस्पताल प्रशासनको जिम्मेवारी हो।

स्वास्थ्य मन्त्रीको अनुगमन र छड्के निरीक्षणपछि पनि बिरामीले उही समस्या भोगिरहनुपर्ने अवस्था अन्त्य गर्न अस्पताल प्रशासनले चिकित्सकको उपस्थितिको नियमित अनुगमन, ड्युटी समयको पालना र गुनासो सम्बोधनमा प्रभावकारी कदम चाल्न आवश्यक देखिएको छ। अनुगमन औपचारिकतामा मात्रै सीमित हुने कि त्यसले सेवामा वास्तविक सुधार ल्याउने भन्ने प्रश्न अहिले कोशी अस्पतालको सेवा प्रवाहसँग जोडिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्