विराटनगर । विराटनगर महानगरपालिकाको १२ र १६ नम्बर वडामा केसलिया खोलाको बाढी पस्दा ८० घर विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१२ बखरी र सिम्राहीका ३० घरपरिवारका १५० जना र विराटनगर–१६ दरैयाका ५० घरपरिवारका २५० जना नागरिकले घर छोडेर विस्थापित हुनु परेको हो ।
केसलियाको बाढी वस्तीमा पसेपछि वडा प्रहरी कार्यालय ‘क’ विराटनगरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमको कमाण्ड, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाको कमाण्ड र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ८० जना प्रहरी परिचालन गरि उद्धार गरिएको थियो ।
विराटनगर–१२ बखरी तथा सिम्राहीबाट उद्धार गरिएकाहरुलाई बखरी प्रा.वि. र दरैयाबाट उद्धार गरिएकाहरुलाई मिल्स मा.वि.मा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइएको छ ।
यता विराटनगर महानगरपालिका–१६ का वडाअध्यक्ष मनोज सुब्बाले आफ्नो वडामा मात्रै ४०० घर परिवार डुबानमा परेको जानकारी दिइएका छन् । उनले भारतले दशगजा नजिकै ड्यामसहितको सडक निर्माण गरेका कारण पानीको निकास नहुँदा डुबानमा परेको बताएका छन् ।
उनले वडामा डुबानबाट प्रभावितमध्ये २५० जनालाई मिल्स मा.वि.मा राखिएको र बाँकी आफन्तको घरमा बसेको दावी गरेका छन् । विराटनगर–६ र ७ मा अवैध रुपमा खोला उत्खनन् गरिएको स्थानबाट खोलाले कटान गरेर वहाव परिवर्तन गर्दा दक्षिणवर्ती क्षेत्रको विराटनगर–१२ र १६ का वस्ती जलमग्न भएको थियो ।
तस्वीरहरु : प्रेम देवान