विराटनगर । पूर्वमै खुलेआम् तस्करीको लाइन चल्ने सुनसरीको हरिनगर ७ स्थित घुस्कीमा तस्कर र सुरक्षाकर्मीबीच दोहोरो झडप हुने क्रम बढेको छ ।
शुक्रबार बेलुका भारतबाट अवैध रुपमा सामान लिएर आउँदै गरेका व्यक्तिहरुलाई प्रहरीले चेकजाँच गर्ने क्रममा झडप भएको थियो । यस अगाडी समेत घुस्कीमा झपड भईसकेको छ ।
झपडमा सशस्त्र प्रहरी बलको हतियार खोस्ने क्रममा सशस्त्रको गोलि चलेको थियो । तस्करले बन्दुक खोस्न खोजेपछि पड्किएको बन्दुकको गोलि लागेर स्थानीय एकजना युवा गम्भीर घाइते भएका थिए ।
सशस्त्र प्रहरी बल नम्बर ४ गणका प्रहरी उपरीक्षक कृष्ण ढकालका अनुसार राति साढे ९ बजेको समयमा भारतबाट अवैध रूपमा समान ल्याउने समुहसँग विवाद भएको हो । सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीले अवैध रूपमा ल्याएको सामान नियन्त्रणमा लिन खोजेपछि विवाद भएपछि तस्करहरुको समुहले हतियार खोस्ने प्रयत्न गरेका थिए ।
त्यसपछि त्यो समुह र सशस्त्र प्रहरीबीच विवाद भएको र सोही क्रममा ६–७ जना युवाहरुको समूहले हतियार खोस्ने प्रयत्न गरेका थिए । त्यसपछि ड्युटीको प्रहरीको गोली चलेको थिषे ।
गोली लागेर स्थानीय हरिनगर गाउँपालीका वार्ड नम्बर ७ घुस्कीका २० वर्षीय सुवाद अन्सारी घाइते भएपछि त्यसको विरोधमा शनिबार स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार साँझ युवाहरुले कुटपिटबाट गर्दा ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान जीवराज बिसंखेसमेत घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते भएका अन्सारीको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको र सशस्त्रका जवान बिसंखे समेत अहिले अस्पतालमै उपचारतः रहेको जानकारी दिइएको छ ।