विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएका विराटनगर अस्पताल (विराट नर्सिङ होम)का सञ्चालक एवं वरिष्ठ चिकित्सकलाई काठमाण्डौं लगिएको छ । शुक्रबार साँझ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनी शनिबार हेलिकप्टर चार्टर गरेर टिचिङ अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना हुन पुगेका हुन् ।
गत मंगलबार संक्रमण पुष्टि भएपछि उनी ३८ घण्टासम्म राज्यको सम्पर्क बाहिर रहेका थिए । पहिचान लुकाएका कारण संक्रमित खोज्नका लागि स्थानीय प्रशासनलाई हम्बेहम्बे परेको थियो ।
बिहीबार महानगरपालिकाको सम्पर्कमा आएका उनलाई शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । तर, शनिबार हेलिकप्टर चार्टर गरेर उनी टिचिङको कोभिड–१९ उपचार केन्द्रमा भर्ना हुन पुगेका हुन् ।
समुदायमा संक्रमण
मोरङमा शनिबार ५ जना थपिएसँगै संक्रमितको संख्या २०५ पुगेको छ । विराटनगर महानगरपालिकामा मात्र ४१ जना संक्रमित पुगेका हुन् ।
लकडाउन खुलेसँगै क्रमशः समुदायस्तरमा भाईरसको संक्रमण देखिन थालेको भन्दै विराटनगर महानगरपालिकाले सचेत रहका लागि आग्रह गरेको छ ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले विराटनगरमा समुदायमा संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउन सबैमा आग्रह गरेका हुन् ।
संक्रमण क्वारेन्टीनमा मात्रै सिमित नदेखिएकोले विराटनगरमा समुदायस्तरमा गईसकेको अनुमान गरिएको छ । महानगरपालिकामा कोरोना क्राइसिस मेनेजमेन्टको बैठक समेत अहिले बस्ने तयारी गरिरहेको छ ।