विराटनगर । संचालकलाई कोरोना संक्रमण देखिएपछि प्रदेश १ को राजधानी विराटनगरमा रहेको विराटनगर अस्पताल सिल गरिएको भएपनि अस्पतालका एकजना कर्मचारी विराटनगरमा असुरक्षित रुपमा राहत बाँड्दै हिडेको पाइएको छ । अस्पताल प्रशासन फाँटका साजन पासवान विराटनगरमा राहत बाँड्न व्यस्त देखिएका हुन् ।
विराटनगर अस्पतालमा कार्यरत कर्मचारीले आफ्नै फेसबुकमा हालेको तस्विरमा समेत राहत बाँड्दा मास्कले नाक र मुखसम्म नढाकेको देखिन्छ । विराटनगरको ब्रम्हपुराका बाढी पीडितहरुलाई सहयोग गर्न लायन्स क्लब अफ विराटनगर र लियो क्लब अफ विराटनगरले आयोजना गरेको राहत वितरण कार्यक्रममा उनले सहभागीता जनाएका हुन् ।
लायन्स क्लव अफ विराटनगरका अध्यक्ष कुसल साहसँग यस विषयमा बुझ्द खोज्दा उनले फोन नै स्वीच अफ गरेका छन् । राहत बाँडेको विषयमा विवरण सोधेपछि उनले ‘हेलो, हेलो। हेलो....’ गर्दै फोन स्वीच अफ गरेका हुन् । यद्यपी अस्पतालका कर्मचारीको े सोझो सम्पर्क संक्रमितसँग नभएको र विगत ४ दिनदेखि अस्पताल नगएको बताइएको छ । अस्पतालका रितेश साहले पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको जानकारी दिइएका छन् ।
संचालकमा कोभिड–१९ देखिएपछि विराटनगर अस्पतालका कर्मचारीहरुलाई रेडजोनमा राखेर पीसीआर परीक्षण गरिने कार्य भइरहेको छ । साथै यस्तो अवस्थामा अस्पतालसँग केहि साता यता देखि सम्पर्कमा रहेका व्यक्तिहरुले स्वयम सचेत भइ होम क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ । यता विराटनगरमा केहि दिन अघिदेखि नियमितरुपमा संक्रमितहरु देखिरहेका छन् । यस क्षेत्रमा कोभिड–१९ समुदायमा गएको हो कि भन्न आशंका उब्जिरहँदा यसरी जिम्मेवार हुनु पर्ने व्यक्तिहरु र सचेतना बाँड्नहरु नै कोभिड–१९ को संवाहक बन्ने जोखिम बढेको देखिन्छ ।
यस्तो विश्वव्यापी महामारीको समयमा समाजसेवा वा आपतकालिन सेवामा आवद्ध व्यक्तिहरु थप जिम्मेवार हुन आवश्यक छ । कार्यक्रमका आयोजकले पनि आफ्ना सहभागीहरुको ट्राभल हिस्ट्रि, एक्स्पोजर हिस्ट्रि लगायतका विवरण ध्यान दिन जरुरी देखिन्छ । उनी कोभिड–१९ को संक्रमण फैलिएको भनि सिल गरिएको अस्पतालको कर्मचारी भएको थाहा हुँदाहुदै कार्यक्रममा सहभागी गराउनु आयोजकको गम्भिर त्रुटि रहेको देखिन्छ । यस्ता गतिविधिमा सामाजिक दुरीको पालना नभएको, आवश्यक स्वास्थ्य सुरक्षा विधि नअपनाएको देखिरहँदा समेत स्थानीय प्रशासनले कुनै नियमन र मापदण्ड नबनाएको पाइन्छ ।