विराटनगर । प्रदेश १ मा आज ९० वर्षीया मधुदेवी भट्टराईसहित ५७ जनाले कोरोना भाईरस परास्त गरेर डिस्चार्ज हुनु भएको छ ।
विराटनगर–६ निवासी भट्टराई कोशी अस्पताल विराटनगर कोभिड–१९ उपचार केन्द्रबाट भर्ना भएको १० दिनमै डिस्चार्ज भएर घर फर्कनु भएको हो ।
उहाँसँगै कोशीको कोभिडबाट २१ जना र पूर्वाञ्चल विश्वविद्यालयको कोभिड आईसोलेशनबाट ३६ जना डिस्चार्ज हुनु भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास लगायतले विदाई गर्नुभएको थियो ।
डिस्चार्ज हुनेमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र ते¥हथुमका १–१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८८७ पुगेको छ ।
प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ पुरुष ४ महिला, सुनबर्षीमा ३ जना र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१ पुरुष, उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १८९ पुगेको छ ।
प्रदेश १ मा आज ६ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५ महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।