अत्याउन खोजेको नबुझिदिनु होला । तर्साउन खोजेको पनि होइन । सत्य तितो हुन्छ, सुन्नलाई ठुलै हिम्मत चाहिन्छ । जसले जे जे भनेपनि कोरोना सजिलै जाने देखिएन ।
मेडिकल अनुसन्धानमा महारथ हासिल गरेका भनिएका सबै देशले हार खाइसके । अमेरिका जस्तो देश एउटा सामान्य औषधिको लागि इन्डियासँग धम्कीपूर्ण याचना गर्न बाध्य भयो । चीनको अथक प्रयासलाई पनि पटकपटक दोहोरिएर कोरोनाले हेपेकोहेपेकै छ ! नेपाल जस्तो निम्छरो देशको कुरै नगरौं ।
लाग्छ एकपटक पुरै समुदाय सक्रमित हुने छ । कति मर्ने कति बाँच्ने भन्ने कुरा पनि अज्ञात नै देखिन्छ । जोगिने आफैं हो, जोगाउने पनि आफैंले नै हो । थुनिएर बस्दा जितिन्छ, स्वतन्त्रता रोजे सकिइन्छ भन्ने कुरा पनि भरपर्दो छैन । कहिलेसम्म थुनिएर बस्दा जित हुन्छ भन्ने कुरा पनि भन्नेहरूलाई नै थाहा छैन । अस्पतालमा सुनसान हुँदै छन् । बजार पनि ठप्प जस्तै देखिन थालेको छ । यस्तो बेलापनि राजनीति चाहिँ पुरै तातेको छ । जनता नै सिद्धिए भने भोलि भोट कोसँग माग्ने हो । हिजो राजतन्त्र फाल्दा सबै दल र समूहहरू एउटै मोर्चामा थिए । जनताको मुहारमा खुसी ल्याउन टाउकोमा कात्रो बेरेर निस्किएको भन्थे । के देश र जनताको लागि कोरोनाभन्दा राजतन्त्र घातक थियो र ?
आज सिङ्गै देशलाई आतंकको तुवाँलोले छोपिसकेको छ । यो बेला सबै दल र समूहहरू एउटै धारमा, एउटै मोर्चामा, एउटै नीतिमा जोडिनुपर्छ ।
बाँचियो भने फेरि कांग्रेस, नेकपा, समाजवादी, हिन्दू, मुस्लिम, इसाई जे जे हुनुछ भएरै छोडौँला । एकाअर्कालाई सत्तोसराप पनि गरौंला । चुनावमा दुई तीहाइ पनि ल्याउँला ।
तर आज मानवता नै सङ्कटमा परेको छ । कति हजार, कति लाख जनता सोत्तर हुने हुन् ? अनुमान गर्न पनि डरलाग्दो देखिएको छ । यस्तो आततायी अवस्था मानव इतिहासकै दारुण दृश्य बनिरहेको छ ।
कल्पना नै गर्न नसकिने जनधनको क्षति हुनलागेको विषम परिस्थितिमा आउनु होस् एउटा सङ्कल्प गरौं । म निश्चित समयका लागि वाद र सिद्धान्त छोडिदिन्छु । तपाईं पनि स्वार्थको दलदलबाट बाहिर निस्किनु होस् । सारा देश भयक्रान्त भएको बेला तपाईं पनि मन्त्री–प्रधानमन्त्री नबन्नु होस् । म पनि पक्ष–प्रतिपक्ष र विद्रोही बन्दिन ! एकपटक फेरि तपाईं र म मिलेर हामी बनौं । जनताको रोदनलाई अलिकति भए पनि कम गर्नुछ ! आउनु होस् फेरि एकपटक हातेमालो गरौं । म पनि तपाईं जस्तै नेपाली बन्छु अनि तपाईं पनि म जस्तै नेपाली बन्नु होस् ।