पत्रकार बानियाँ मृत फेला: बल्खुमा चिप्लिएर लडेका थिए

<span class='c1'>पत्रकार बानियाँ मृत फेला:</span> <span class='c2'>बल्खुमा चिप्लिएर लडेका थिए</span>

दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएका अवस्थामा शव फेला परेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
मङ्गलबार बिहानै शव फेला परेको थियो । पानी परिरहेको र जालीमा अड्किएकाले प्रहरीलाई शव निकाल्न समेत निकै मुश्किल भएको थियो । साँझ मात्रै शव निकालेर राति परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । आज मात्रै शवको सनाखत भएकोे बताइएको छ ।
पत्रकार बानियाँ पहिले लामो समय ‘कान्तिपुर‘ दैनिकमा काम गरी बीचमा ‘नागरिक’ दैनिकमा केही समय जानुभएको थियो । त्यसपछि पुनः फर्किएर कान्तिपुरमा कार्यरत हुनुहुन्थ्यो ।
एसएसपी थापाका अनुसार यही साउन २६ गते बल्खुस्थित खोलामा चिप्लिएर लडेपछि उहाँ बेपत्ता हुनुभएको थियो । पानीको बहाब बढी भएकाले उद्धार प्रयास सफल हुन सकेन । तत्कालीन समयमा उहाँको पहिचान हुन सकेको थिएन ।

प्रहरीमा प्राप्त विवरणअनुसार सोमबार अपराह्न ३ बजे पत्रकार बानियाँ बल्खुमा हिँडिरहेका अवस्थामा देखिनुभएको थियो । सोमबार ३ः२३ बजेको सिसी क्यामेरा फुटेजमा उहाँ हल्लिएर हिँड्दै गरेको देखिएको प्रहरीले जनाएको छ ।
कोभिड–१९ को जोखिमका समयमा मास्क नलगाई हिँडेको देखेपछि त्यसबेला प्रहरीले कहाँ जान लागेको भनेर सोधखोजसमेत गरेको थियो । पत्रकार बानियाँले तीनकुनेस्थित घर जान लागेको भनी जवाफ फर्काउनुभएको थियो । प्रहरीले राम्ररी सुरक्षित भएर घर जानसमेत सुझाएका थिए तर उहाँ माथि लाग्नुपर्नेमा खोलातिर लागेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

“स्थानीयवासीले खोला छ, तल नजानुहोस् भन्दाभन्दै उहाँ थाहा छ भन्दै खोलातर्फ जानु भएछ”, महाशाखा प्रमुख थापाले रासससँग भन्नुभयो, जाँदाजाँदै चिप्लिएर लड्नुभएछ ।” उक्त घटना सोमबार अपराह्न १५ः४५ बजेतिरको हो । त्यसपछि तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले समेत खोजी गर्दा फेला पार्न सकेनन् । घटनास्थलमा जुत्ता भने फेला परेको थियो ।
खोला किनारमा भेटिएको जुत्ता भने छोरीले पहिचान गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । छोरी सुस्मिताले सिसी टिभी फुटेज हेरेपछि बानियाँलाई नदीले बगाएको पहिचान खुलेको थियो ।
पत्रकार बानियाँ घरबाट भने साउन २५ गते नै निस्किनुभएको महाशाखाले जनाएको छ । । त्यस दिन उहाँ काठमाडौँको ढुङ्गेअड्डास्थित तीनथानामा रहेको आफन्तकहाँ बसेको खुलेको छ । त्यहाँबाट भोलिपल्ट अपराह्न साढे १२ बजे उहाँ हिँड्नुभएको थियो । त्यसदिन अपराह्न १ बजे कलङ्कीबाट मोबाइल अफ भएको पाइएको छ ।
मङ्गलबार परिवारबाट महाशाखामा खोजतलासका लागि निवेदन परेपछि मात्रै महाशाखाले उहाँलाई नै वाग्मतीले बगाएको भन्ने यकिन गरेको थियो । खोला किनारमा पुगेपछि जुत्ता अड्किएको र मान्छे खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । तत्कालै स्थानीय तथा प्रहरीले उद्धार प्रयास गरे पनि सफल हुन सकेन ।
मकवानपुर– भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित माण्डु हाइड्रोपावरको बाँधमा अल्झिएको अवस्थामा फेला परेको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अपराध अनुसन्धान महाशाखा काठमाडौँले बानियाँको परिवारलाई तस्वीर देखाएपछि परिवारले शव पुष्टि गरेका थिए । सोही आधारमा आफूहरुले शवको सनाखत गरेको प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो ।
दुई दिनदेखि घर नफर्र्किएपछि परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको थियो । विसं २०२७ जेठ १५ गते तनहुँ जिल्लाको भानु नगरपालिकामा जन्मिनुभएका बानियाँ काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ सुविधानगरमा बस्दै आउनुभएको थियो । बानियाँ नेपाल पत्रकार महासङ्घका पूर्वसचिवसमेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्