विराटनगर । विराटनगरका एक युवक माथि भारतको जोगवनीमा गोली प्रहार भएको छ ।
विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि आईतबार दिउँसो गोली प्रहार भएका प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रको दशगजा नजिकै भारततर्फको भूमिमा गोली प्रहार भएको बुझिएको छ ।
मटेरुवा प्रहरी चौकी नजिकै रहेको घटनास्थल भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा पर्छ । घटनास्थल छेउमा नेपालतर्फ सीमा नाकामा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।
मण्डल नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवा नाका हुँदै आइतबार दिउँसो ३ बजेतिर भारततर्फ गएका थिए । भारत छिरेको केही बेरमै उनीमाथि गोली प्रहार भएको खुलेको नेपाल प्रहरीले जनाएको छ । तर दशगजा नजिकै गोली प्रहारको घटना भए पनि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले भने चाल नपाएको बताएका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर मानिसको आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको छ ।
तर नाकामा परिचालित प्रहरीलाई छल्दै भारततर्फ गएका मण्डलमाथि विवाद गर्दै भारतीय युवाले गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मण्डलमाथि भारत जोगवनीका अन्दाजी २५-३० वर्षीय मुकेश यादवले पेस्तोलबाट गोली प्रहार गरेको खुलेको छ ।
घटना हुनुअघि दशगजा नजिकै भारततर्फ यादव केही साथीहरुसँग क्यारम खेलेर बसिरहेको र पुग्नसाथ विवाद गरेर आफूमाथि गोली प्रहार गरेको मण्डलले प्रहरीलाई बताएका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा चोट लागेको बताए । मण्डलको औंलामा प्वाल परेको छ ।
गोली प्रहारपछि घटनामा संलग्नले नै उठाएर जोगवनी बजारको एउटा क्लिनिकमा उपचार गर्न लगेको खुलेको छ । उपचार गराएको पैसा तिर्ने विषयमा विवाद हुन थालेपछि आफूसँग रहेको पेस्तोल निकालेर क्लिनिक सञ्चालककै अगाडि तीन राउण्ड हवाईफायर गर्दै यादव फरार भएको पाइएको प्रहरीको भनाइ छ ।
एसपी खड्काले सीमामा आवतजावतमा ठप्प बनाइएको अवस्थामा सुरक्षाकर्मीलाई छल्दै मण्डल किन भारततर्फ गएभन्ने बारेमा पनि अनुसन्धान सुरु गरिएको बताए । भारतीय भूमिमा घटना भएकाले यस घटनाको अनुसन्धान गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने काम भारतीय प्रहरीले गर्ने भएको छ ।
मण्डलले भने जोगवनीमा आफ्नो मावली रहेकाले त्यता जाने क्रममा घटना भएको बताएका छन् । तर प्रहरीले भने उनी लागुऔषधका दुव्र्यसनी रहेको दाबी गरेको छ । प्रहरीले फेला पार्दा उनी लागुऔषध कै नशामा रहेको बताइएको छ । मण्डलले पनि आफूले लागुऔषध कोरेक्स सेवन गरेको प्रहरीलाई बताएका छन् ।