विराटनगर । मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत लेखा एवं प्रशासन प्रमुख मुक्तीनाथ दाहालले आत्महत्या गरेका छन् ।
झापाको दमकस्थित तारबारीमा रहेको प्रतिष्ठानको बहुप्राविधिक शिक्षालयमा दाहाल कार्यरत थिए । उर्लाबारी–५ घर भएका उनी शिक्षालयमै झुन्डिएको अवस्थामा सोमबार मृत फेला परेका थिए । घटना पछि मंगलबार दाहालको घरमा श्रद्धाञ्जली दिन पुगेका पुगेका प्रतिष्ठानका अध्यक्ष एवं नेकपा नेता गुरु बरालमाथि स्थानीयबासीले आक्रमण गरेका थिए । घटनास्थलमा रहेको प्रहरीले बराललाई सुरक्षित स्थानमा लगेको थियो । दाहालको मृत्यु प्रकरण संकास्पद रहेको भन्दै आफन्तले छानबिनको माग गरेका छन् ।
मृत्युको बाटो रोज्न बाध्य पारेकोभन्दै उनका आफन्त र स्थानीय बासिन्दाले प्रतिष्ठानका प्रमुख कार्यकारी निर्देशक विनोद अर्याललाई पक्राउ गरेर कारबाही अघि बढाउनुपर्ने माग गरे । अर्यालले दबाव दिएर आत्महत्याको लागि दुरुत्साहन गरेको आरोप स्थानीयको छ । भीड उत्तेजित र आक्रमक हुँदै गएपछि नियन्त्रणमा लिन उर्लाबारी, बेलबारी, पथरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । त्यत्तिकै संख्यामा सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो ।