विराटनगर । आज (मंगलबार) राष्ट्रिय विभूति, किरात धर्मका महागुरु एवं सामाजिक चेतना फैलाउने अभियन्ता फाल्गुनन्द लिङदेनको जन्मजयन्ती हो । आज प्रदेश एक सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
को हुन् फाल्गुनन्द ?
किरात धर्मको समाज सुधारकका रूपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज मंगलबार किरात धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँदैछन ।
नेपाल सरकारबाट २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार हालको प्रदेश नम्बर १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो।
सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसं १९८८ वैशाख २५ गते पाँचथरको लेबे्रकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो। यो घटनालाई इतिहासमा ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’का रूपमा चिनिन्छ ।
करिब ८ दशक अघि किरात समुदायका अगुवाहररूलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउनु पक्कै पनि सामान्य थिएन।
किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनुपर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतका नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनुपर्ने, सिरिजंगा लिपि प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधार अभियान चलाएका थिए।
विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका उनले महिलालाई पनि पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर फाल्गुनन्दले लैंगिक समानताको वकालत गरेका थिए।
समाज सुधारक र मुन्धुमका संरक्षणकर्ता फाल्गुनन्दको जन्म अति गरिब परिवारमा आमा हंसमति र बुवा जगनबाज लिम्बुको साहिला सन्तानका रूपमा जन्म भएको थियो। उनी ८ वर्षकै उमेरमा ज्ञानी र ध्यानी भएका थिए।
न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उनी बेलायती फौजमा फाल्गुनन्द नामबाट भर्ती भएका थिए।
नेपाल सरकारले विसं २०५० मा महागुरु फाल्गुनन्दका नाममा सम्मान स्वरूप १५ रुपैयाँको हुलाक टिकट प्रकाशन गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सरकारको नेतृत्वमा पुगेका बेला विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीका अवसरमा किरात धर्मावलम्बीहररूका लागि सरकारी सार्वजनिक विदा दिने निर्णय भएको थियो।
प्रदेश १ सरकारले फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज मंगलबार सार्वजनिक विदा दिएको छ । विदाको विषय प्रदेश सरकारले राजपत्रमै उल्लेख गरेको छ ।