बिराटनगर । लायन्स क्लब अफ हेल्थ प्रोफेसनलद्वारा सुनसरीको गढी गाउँपालिकामा मंगलबार प्याल्जमा तथा रक्तदान कार्यक्रम सप्पन्न गरिएको छ ।
प्रतिदिन कोरोना संक्रमण बढी रहेको बेला र कोरोना संक्रमित गम्भीर अवस्थाका बिमारीहरुलाई प्रभावकारी मानिएको प्लाज्मा थेरापिका लागि रक्तदानसँगै प्लाज्मा डोनेशन गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोग र गढी गाउँपालिकाको विशेष सहयोगमा ७ वटा प्लाज्मा ब्लड र ३० वटा सामान्य बिरामीलाई आवस्यक ब्लड संकलन गरिएको छ । कोरोना निको भएको १५ दिन पार गरिसकेका स्वास्थ्य व्यक्तिले ६० दिन पार नगर्दै प्लाज्मा दिन सक्ने र सो प्लाज्मा ६ महिनासम्म प्रयोग गर्न सकिने भएकाले कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष लायन प्रमोद चौधरीले बताए ।
उक्त रक्तदान कार्यक्रममा क्लबका निर्देशक तथा इलाम स्वास्थ्य शाखा प्रमुख बृज कुमार दासद्वारा प्लाज्मा रगत दान गरेर उदघाटन गरिएको थियो ।
प्लाज्मा डोनेसन संगसंगै कोभिड संक्रमण नभएका सर्वसाधारण स्वस्थ्य व्यक्तिहरुले सोहि स्थानमा रक्तदान गरेका थिए । यसले अहिले भई रहेको रगत अभावको समस्या लाई न्युनिकरण गर्न मद्दत गर्ने र यस क्लबले स्वास्थ्य क्षेत्रमा निकै राम्रो सेवा दिदै आएको कार्यक्रमका प्रमुख अथिति लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ नेपालका अध्यक्ष लायन ईन्द्र खत्री राजनले बताए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, उपाध्यक्ष, नेपाल रेडक्रस सोसाईटी सुनसरीका अध्यक्ष उमेश थापा लगायतको उपस्थिति रहेको थियो ।
लियो क्लब बिराटनगर हेल्थ प्रोफेसनलका अध्यक्ष कृष्ण दास लगायत जनप्रतिनिधि, क्लबका सदस्यहरु, समाजिक अभियन्ता भेषराज पोखेरेल, पेरिस सुबेदि लगायतको उपस्थिति रहेको औपचारिक कार्यक्रम क्लबका अध्यक्ष लायन हैदर अलिको अध्यक्षतामा भएको थियो ।