परिवर्तीत दृष्यहरु-मनोज ओझा

<span class='c1'>परिवर्तीत दृष्यहरु-मनोज</span> <span class='c2'>ओझा</span>

विदाको दिन केहि साथीहरु मिलेर हामी एउटा यात्रामा थियौं । मोरङ्गका ग्रामीण तथा साना बजारहरुको बिचबाट हाम्रो यात्रा अघि बढ्थ्यो । विविध प्रकारका मनिसहरु हाम्रो यात्राका दर्शनीय पात्रहरु थिए । हरिया खेतबाट बहेको चिसो हावा र तातो सडक सँग मित्तेरी गाँस्दै हामी यात्रामा देखिएका दृष्यहरुको भरपुर लाभ उठाई रहेका थियौं । हाम्रो आँखाहरुमा विभिन्न सामान्य तथा असामान्य दृष्यहरु देखिदै थिए । केही रोचक देखिन्थे त केहि रमाईला । केहि साँच्चै अनौठा त केही विल्कुलै सामान्य ।
छुट्टीको दिन भएकोले ठाउँ-ठाउँमा खेल्दै गरेका केटा-केटीहरुको भिड देखिन्थ्यो । विद्यालयको चौर, खोला कीनारको खुल्ला भाग तथा खेतका ठूलो-ठूलो गह्राहरुलाई यीनीहरुले आफ्नो खेल मैदान बनाएको पाईथ्यो । सबै भन्दा अनौठो त के थियो भने यसरि भेट्टिएका खेल समुह मध्ये अधिकांशले खेलिरहेको खेल थियो, क्रिकेट ।
दृष्यहरु साच्चै नै परिवर्तन भएका थिए । केहि वर्ष अघि सम्म यसरि गाँउ वस्ती मा क्रिकेट खेल्दै गरेको दृष्य पाउनु नै असम्भव झै थियो । गाँउघरमा खेलिने खेल भन्ने बित्तिकै फुटबल, भलिवललाई लिइन्थ्यो । हरेक बस्ती अनि गल्लीहरुमा स्कुले केटाकेटी देखि युवा पुस्ता सबै प्राय फुटबल भलिबलमा रमाइरहेको पाइन्थ्यो । क्रिकेटलाई एउटा कठिन तथा बढी श्रोत साधनको आवश्यकता पर्ने अव्यवहारिक खेल मानिन्थ्यो । आज त्यहि कठिन तथा अस्वाभीक मानिने क्रिकेटलाई एकदमै सरल र स्वभाविक तरिकाले खेलिरहेका विभिन्न रुपहरु हामीले भेट्टाइरहेका थियौं ।
कहिँ ११-११ जनाकै टीम बनाएर व्यवस्थित तरिकाले खेलिरहेको देखिन्थ्यो त कहिँ ४-५ जनाकै टोलीले काम चलाइरहेको पाइन्थ्यो । राम्रो खालको ब्याट, बल, स्टम्प, हेलमेट र ग्लोबस प्रयोग गर्ने युवाहरुको समुह पनि भेटीयो त कहिँ बाँसको भाटाको स्टम्प बनाएर टेनिस बललाई प्लाष्टिकको ब्याटले हिर्काइरहेको पनि देखियो ।
त्यही क्रममा एउटा स्कुलको चौरीमा खेलिरहेको एक समुह गज्जबको थियो । १०-११ वर्षका जस्ता देखिने दुईटीमलाई त्यहि उमेर समुहको एक जना अम्पायरले सञ्चालन गरिरहेको यिथयो । सेतो टीसर्ट, कालो ट्राउजर, कालो चस्मा र सेतो ह्याट लगाएको उसको व्यक्तित्व र अम्पायरिङ कौशलता देख्दा हामीलाई कुनै अन्र्तराष्ट्रिय मैदामा अन्र्तराष्ट्रय स्तरको खेल हेरेझैं लागिरहेन्थ्यो । वाइड, नो बल, आउट, बाउन्सर, जस्ता संकेतहरु उ स्पष्ट रुपमा प्रस्तुत गरिरहेको थियो । त्यसै बिच एउटा नयाँ बलर क्रिजमा आयो । उसले चिच्याएर भन्दै थियो - राइट हेण्ड मिडीयम फास्ट । हामीले अनुमान गर्यौ सायद उ ब्याट्समेनलाई बलको प्रकृतीको बारेमा जानकारी दिइरहेको थियो ।
यात्राकै क्रममा एउटा फराकीलो चौरमा पनि भिडभाड सहितको त्यस्तै अर्को दृष्य देखियो । यहाँ खेलिरहेको खेलाडी प्रायजसो युवा देखिन्थे । मैदानको बिचमा रहेको ब्याटीङ पिच केहि व्यवस्थित नै देखिन्थ्यो । केहि संख्यामा दर्शकहरु पनि उपस्थित थिए । अझ सबै भन्दा रोचक त के थियो भने चौरको एउटा कुनामा साउण्ड सिष्टम राखिएको थियो जसबाट एक युवक आधा हिन्दी र आधा नेपाली मिसिएको भाषामा प्रत्येक बलको निरन्तर कमेन्ट्री गरिरहेको थिए । छेउमा उभिएर खेल हेरिरहेका एक दर्शक सँग सोधपुछ गर्दा थाहा भयो केहि दिन देखि यहाँ क्रिकेट प्रतियोगिता नै चलिरहेको रहेछ । स्थानीय ६ टीम सहभागी रहेको टुर्नामेन्टको फाइनल खेल हेर्ने सुअवसर हामीलाई पनि जुरेको रहेछ ।
यी दृष्यहरुले नयाँ पुस्ताको क्रिकेट प्रतिको बढ्दो इच्छाशक्ति मात्रै नभएर यीनीहरु प्राविधिक रुपमा पनि कति सक्षम र सवल रहेछन भन्ने कुराको महशुस गराइरहेको थियो । विश्व क्रिकेटमा चुलिदै गरेको नेपाली क्रिकेटको सम्भावना तथा गाँउ-शहर जताततैको संचारको सहजता यो बढिरहेको क्रिकेट के्रजको कारण हुन सक्ला तर नेपाली क्रिकेटको भोलीको जेनेरेसन माथी उठीरहेको प्रश्नको जवाफ भने यो इच्छाशक्ति बन्न सक्छ ।
आज देशका हरेक कुनामा खेलिरहेका नयाँ पुस्ता क्रिकेटको लागि मानिसक रुपमा तिब्र इच्छाशक्तिका साथ तयार छन् तर खाँचो छ त वैज्ञानिक व्यवास्थापनको एउटा खेलको गह्रा तथा स्कुलको चौरीमा खेलेका भरमा मात्र कुनै पनि युवाले आफ्नो खेललाई त्यो उचाइमा पुर्‍याउन सक्दैन जहाँबाट उसले आफुलाई विश्व क्रिकेटमा उभ्याउनु पर्नेछ ।

नेपालको बर्तमान राष्ट्रिय क्रिकेट सफलताको बाटोमा हिड्न कोशिस गररिहेकै छ। बिगतको केहि वर्ष लाई मात्र नियाल्ने हो भने पनि निकै ठुला ठुला अन्तर्राष्ट्रिय चुनौतीलाई यसले पार गरिरहेको छ । यदि नेपाली क्रिकेटको सफलतालाई निरन्तरता दिँदै भोलीको भविष्य अझ उज्वल चाहने हो भने आजै देखि सम्बन्धित निकायले गाँउ-गाँउबाट उदाईरहेका यस्ता नव प्रतिभाहरुको पहिचान गरि उचित परामर्श र प्रशिक्षण दिन सक्नुपर्छ ।

 

लेखक: मनोज ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्