विराटनगर । जिल्ला अस्पतालबाट पाठेघरको मुखमा हुनसक्ने क्यान्सर परीक्षणको लागि सेवा सुरु गरिएको छ । प्रदेश १ मा धनकुटा जिल्ला अस्पतालबाट पहिलो पटक बुधबारदेखि यो सेवा सुरु गरिएको हो ।
पाठेघरको मुखको नि ःशुल्क परीक्षण शुरु गरेकै दिन बुधबार ७ जनाको नमूना संकलन गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिनुभयो । नमूना संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने उहाँले बताउनुभयो । एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने निर्देशक यादवले बताउनुभयो ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा जिल्ला अस्पतालबाट पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको बुधबार उद्घाटन गर्नु भएको थियो । उहाँले जीवन शैलीका कारण क्यान्सर रोगका विरामी बढ्दै गएको त्यस अवसरमा बताउनुभयो । पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको मन्त्री घिमिरेको भनाई थियो ।
क्यान्सर रोग न्युनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको बताउँदै मन्त्री घिमिरेले क्यान्सरको शंका लाग्नासाथ परीक्षण गर्न पनि आग्रह गर्नुभयो । जिल्ला स्तरबाट सेवा शुरु भएको जानकारी स्थानीय स्तरसम्म पु¥याउन जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई उहाँले आग्रह गर्नुभयो । मन्त्री घिमिरेले सुर्तीजन्य पदार्थ क्यान्सरको वहाव भएर आएकाले यसको नियमन र नियन्त्रण आवश्यक रहेकोमा जोड दिनुभयो ।
पालिकास्तरबाट सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्दै जानुपर्ने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारले योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश सरकार शिक्षण अस्पतालका लागि कानुनी प्रकृयामा लागेको छ ।’ चालु आर्थिक बर्ष भित्रमा धनकुटा जिल्ला अस्पतालाई १ सय वेडमा स्तरोन्नती गरिने उहाँले बताउनुभयो ।