नवराज कट्टेल
विराटनगर । निन्याउँरो अनुहारमा देखिएका धनपालथान गााउँपालिका–१ नोचाका ५६ वर्षीय हरिलाल मण्डल मंगलबार विराटनगरमा डराईडराई बोलिरहेका थिए । गाउँमा साहुको मिटर ब्याजले घरबार चुर्लुम्म डुबाएर उकासिनै नसक्ने भएका मण्डल शहरमा साहु पक्राउ परेपछि एक दशकको पीडा ओकल्न विराटनगर आएका हुन् । मण्डल जस्तै मोरङका दक्षिणवर्ती क्षेत्रका गरिब किसानमा मिटर ब्याज लगानी गर्दै आएका मन्टु भनिने सन्जयप्रसाद रौनियारलाई सोमबार नै मोरङ प्रहरीले पक्राउ गरिसकेको छ । मन्टु पक्राउ परेपछि पीडित बनेकाहरु मंगलबार आफ्नो पीडा सुनाउन र गुमेको जग्गा फिर्ता आउला की भन्ने आसामा विराटनगरसम्म धाएका हुन् ।
धनपालथान स्थानीय, मिटर ब्याजीबाट पीडित भएपछि मंगलबार विराटनगरमा आफ्ना पीडा सुनाउन आएको बखत ।
विराटनगर–९ घोघापुलका रौनियारले गाउँका किसानको उठिबास लगाउने धन्दा चलाएको दश वर्ष पुगेछ । उनले सयकडा ५ रुपैँयाका दरले ऋण दिने र किसानको नाममा भएको जग्गा आफ्नो नाममा पास गर्ने गरेको पीडितको भनाई छ । पीडित मण्डलले ५० हजार रुपैँया लिएको ऋण निफन्न नौवर्षसम्म आफ्नो अढाई बिघा जग्गामा उखु खेति गरेर रौनियारलाई बालि उठाउन लगाए तर, ऋण चुक्ता भएको घोषणा मिटरब्याजी रौनियारले गरिदिएनन् । कपाली र तमसुक फिर्ता लिएका रौनियारले मण्डल विरुद्ध हप्कीदप्की मात्रै गरेनन्, उल्टै पाँचलाख रुपैँयाको मुद्दा लगाई दिएको उनले गुनासो सुनाए । त्यति मात्रै नभई पक्राउ परेका रौनियार छुट्नसक्ने भन्दै उनलाई कसैले विराटनरमा आईपुगेपछि सुनाईदिएपछि डराएर बोल्नै आनाकानी गरेका थिए ।
मिटर ब्याजी रौनियारका कारण पीडित बनेका धनपालथान–४ का बिनोद सिंहको कहानी झन् पीडादायी छन् । आफ्ना पीडा पत्रकारसँग सुनाउन आएका सिंहले तीन लाख लिएको ऋण १२ लाख रुपैँया बुझाई सके, तर अझै ३५ लाख रुपैँया हिसाबमा देखिन्छ । उनले २०६९ सालमा लिइएको तीन लाख रुपैँया निफन्न सकिन भन्न नपाउँदै अका महानन्द रायले आफ्नो पीडा खोले । २०६३ सालमा रौनियारसँग लिएको अढाई लाख रुपैँयाको अहिले साँवा र ब्याज गरेर १ करोड २५ लाख बुझाउन बाँकी देखिएको छ । तमसुक र कपाली फिर्ता लिएका रौनियारले जग्गा हडप्ने र प्रतिवाद गरेको अवस्थामा हप्कीदप्की गरेर मुद्दा लगाउने डर रायलाई थियो । तर, रौनियार पक्राउ परेपछि स्वास फेर्नसम्म सक्ने भएर गाउँनै मंगलबार विराटनगर आईपुगेको हो ।
नोचाकै बेवी खातुनले समेत आफ्नो पाँच कठ्ठा जग्गा पास गरिदिएर ३ लाख लिएर विगत ८ वर्षदेखि २२ रुपैँया तिरिसक्दा समेत ऋणमुक्त नभएको गुनासो गर्नुभयो । ऋण पूरै बुझाईसकेको थिएँ, अस्ती गएर पाँचलाख दिएमात्रै जग्गा फिर्ता गरिदिने बताएका छन्, खातुनले भनिन् । रौनियारले विराटनगरको घोघापुल चौक, सरोचिया, कटहरी, नोचा, रंगेलीको दक्षिणी क्षेत्रसहित मोरङमा अतिविपन्नहरुको बसोबास भएको स्थानमा मिटर ब्याजमा लगानी गर्दै आएको मो.एकलाक हुसैनको आरोप छ । उनका अनुसार कसैले कुनै प्रतिवाद गरे रौनियार आफैंले प्रहरी खडा गरेर लगाई दिने गरेका थिए ।
साँच्चैका प्रहरी हुन्थे की हुन्थेनन् तर स्थानीयलाई डिएसपी र एसपीको फोनसहितको धाकधम्की र प्रहरीको धरपकड तथा धम्की बारम्बार भईरहन्थ्यो, हुसैनको दावी छ ।
मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काले पीडकले प्रक्रिया मिलाएरै स्थानीयमाथि ज्यादती गरेका कारणा ठगी विरुद्धको मुद्दा लगाउन केहि असजिलो देखिएको बताउनुभयो । उहाँका अनुसार ऋण लगानी गरिएका किसानको जग्गा रौनियारले आफ्नै नाममा नामसारी गरिसकेको देखिएको छ । प्रहरीले बरामद गरेको कागजमा पीडक रौनियारले कानुनी बठ्याँईसहित गाउँघरका किसानमा लगानी गर्ने र जग्गा हडप्ने गरेको देखिएको हो ।
पछिल्लो दशवर्षमा मात्रै रौनियारको नाममा ७५ कित्ता जग्गा पास भएर आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यसैगरी श्रीमती ज्योती रौनियारको नाममा समेत २५ कित्ता र छोराछोरीको नाममा समेत १०–१२ कित्ताका दरले जग्गा देखिएको प्रहरीले बताएको छ । अनुसन्धानकै पाटोमा छौं, सम्पति सुद्धिकरणको मुद्दामा जान सकिन्छ । अस्वभाविक रुपमा आर्जन गरेको सम्पतिको स्रोत खुल्ने अवस्था छ की छैन भनेर हामीले अनुसन्धानलाई बढाएका हौं । पीडकले अदालत, वकिल, प्रहरी र प्रशासन समेतको धम्की गाउँमा दिने गरेको उनलाई नजिकबाट जान्नेहरुले बताउँछन् । उनका नजिकका आफन्तले समेत अहिले उनी विरुद्ध मुद्दा लडिरहेका छन् ।