विराटनगर । ऋण असुल्न आफैंले प्रयोग गरेको समूहबाट विराटनगर–१५ रानीका रामकिशोर ठाकुर पीडित भएका छन् । विराटनगरका मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थी भर्नामा सहजीकरणको भूमिका निर्वाह गर्दै आएका ठाकुरले कुनै समयमा आफ्नो ऋण रकम असुल्न आफैंले प्रयोग गरेका अपराधिक पृष्ठभूमि भएको समूहसँग अहिले पीडित बन्नु परेको हो ।
उनलाई विराटनगर–९ घोघापुलका एजाज अहमदसहित चारजनाको समूहले अपहरणपछि एक करोड १० लाख रुपिँयाको चेकमा हस्ताक्षर गराएर गत मंसिर २५ गते छोडिदिएका हुन् । ठाकुरसँग एजाजसहित चारजनाको समूहले पुस ८ गतेको ५० लाख र माघ १० गते मितिको ६० लाख रुपैँयाको चेक लिएका थिए ।
विराटनगर रोडशेष चौकबाट ठाकुरलाई बा १८ च ८९९५ नम्बरको कियाको कारमा राखेर दिनभर धाकधम्की र डरत्रास देखाएर आपराधिक लाभ लिएको भन्दै उनले पुस १ गते प्रहरीमा जाहेरी दिए । प्रहरीले घटनामा संलग्नमध्ये एजाजलाई पक्राउ गरेर अपराधिक लाभको मुद्दामा अनुसन्धान गरिरहेको छ । भने उनको साथबाट कार समेत बरामद गरेको छ । तर, ठाकुरसँग एजाज समूहले लिएको चेक भने फेला पार्न सकेको छैन । उनीहरुले चेक साट्नु अगावै प्रहरीले एजाजलाई नियन्त्रणमा लिएर चेक नसाट्न बैंकलाई पत्राचार गरेको थियो ।
अपहरणको समयमा ठाकुरले कामना विकास बैंकमा जम्मा गर्नका लागि बोकेको दुईलाख रुपैँया समेत त्यहि समूहले लगेको उजुरीमा उल्लेख गरिएको छ । त्यस बाहेक हरिश नाम गरेका एकजना मारवाडी समुदायका व्यक्तिको नाममा १३ लाख र एकजना मुस्लिम समुदायका व्यक्तिको नाममा सात लाख रुपैँया बुझाउन बाँकी रहेकोे कागज बनाएर हस्ताक्षर समेत गराएको पीडितको भनाई छ ।
प्रहरीले अनुसन्धान गरिरहेको घटनाको भित्री पाटो भने मिटरब्याजकै रकम उठाउने खेलामेलासँग जोडिएको छ । ठाकुरले मिटर ब्याजमा लगाएको रकम उठाउन प्रयोग गरिएका एजाज समूहले अहिले उनैलाई उल्टै पिरेको देखिएको हो ।
घटनाको कनेक्सन
विराटनगर–१५ रानीका ठाकुर विराटनगर अस्पताल (विराट नर्सिङ होम) सँग जोडिएर काम गर्दै आएका छन् । त्यहि क्रममा उनले पवन अग्रवाल नाम गरेका विकास मार्बल्सका सञ्चालकलाई १५ लाख रुपैँया रकम सापटी दिए । अग्रवालको व्यवसाय समेत विराटनगर–धरान रोडको बिराट नर्सिङतर्फ मोडिने सटरमा थियो । तर, मिटर ब्याजमा रकम लिएर टाट पल्टिदै गएका अग्रवालले ठाकुरको रकम बुझाउन सकेनन् । ठाकुरले एजाजसहितको समूहलाई अग्रवालबाट रकम उठाए, २० प्रतिशत दिनेगरि सहयोग मागे । एजाज समूहको बारम्बारको दवावले अग्रवाल तीनलाख रुपैँया बुझाएपछि परिवारसहित भारत पसेको ठाकुर आफैं बताउँछन् ।
त्यहि बेला ठाकुरले एजाजसँग १५ लाख रुपँैया रकम सापटी लिएको दावी गरेका छन् । तर, लकडाउनको समय चैत–बैशाखमा रकम फिर्ता गरिसकेको भएपनि एजाज समूहले अहिले धाकधम्की दिदैं थप रकम असुलेका हुन् । ठाकुरले फिर्ता गरिसकेको भनिएको रकमको ब्याजको स्याज जोडेर आलमले एक करोड १० लाखको चेक नै लिईदिएका हुन् ।
मनलाग्दी रकम भरेर चेक लगेपछि मैले ज्यान छोडें, ठाकुरले भने–चेक लिएपछि कसैलाई नभन्नु भन्दै धाकधम्की दिए, अनि प्रहरीमा पुगें । अग्रवालसँगको लेनदेनको विषयलाई ठाकुरले प्राथमिकता दिएर कोट्याउन चाहेनन् । तर, एजाज समूहमा रहेका युसुब खान (फकिरा) ले सबै व्यवहार मिलाउने गरेको उनकोे भनाई छ । फकिरा अहिले दिल्ली हानिएको प्रहरीको दावी छ । एजाज समूहले भने चेक लिएर पैसा जम्मा नगरे बैंकबाट बाउन्स गराउने र ठाकुर विरुद्ध कानुनी कारवाही गराउने रणनीति लिएको उनले बताए ।
एजाजलाई जोगाउन आजमको कसरत
विराटनगर–९ घोघापुलका एजाज अहमत र आमज अहमद दाजुभाई नै फरार प्रतिवादी हुन् । जिल्ला र उच्च अदालतले तीन महिना कैद सजायको फैसला सुनाएपछि उनीहरुले सर्वोच्चबाट म्याद थप गराएर हिड्डुल गर्दै आएका छन् । अहिले एजाज पक्राउ परेपछि आजम भने नेताहरुको घर–घरमा पुगेर ठाकुरलाई कन्भिन्स गराउन सहयोग मागिरहेका छन् । दैनिक नेताहरुको फोन आउँछ, के भनौ र कसो गरौं भईराछ, ठाकुरले भने–मसँग कुनै विकल्प थिएन, कानुनी उपचार खोज्न पुगें । ठाकुरले आफूलाई त्यो समूहले यस अगाडी समेत बारम्बार घरमै पुगेर दवाव दिदैं आएको गुनासो गरेका छन् ।
प्रहरीले घटनाको ‘कनेक्सन’ खोजि रहेको बताएको छ । शंका आशंकाबीच अहिले पीडितको उजुरीका आधारमा घटनामा संलग्न अन्यको पनि खोजि कार्य जारि राखेको प्रहरीले बताएको छ । पछिल्लो घटनामा पीडित भएका ठाकुरलाई समेत प्रहरीले कारोबारमा पारदर्शिता नभएको व्यक्तिको सूचिमा भने राखेको बुझिएको छ ।