विराटनगर । मोरङका दक्षिणवर्ती सीमा क्षेत्रका सर्वसाधारणलाई ऋण रकम लगानी गरेर मिटर ब्याज असुल्ने विराटनगर–९ घोघापुलचौकका ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध मुद्दा चलाउन आवश्यक प्रमाण प्रहरीले जुटाएको छ । मोरङ प्रहरीले जुटाएको प्रमाणका आधारमा उनी विरुद्ध तीन वटा मुद्दामा अनुसन्धान गर्ने गरी अदालतबाट स्वीकृतिसहित म्याद थप गराएको हो ।
सर्वसाधारणलाई ‘टाट’ पल्टाउने शैलीमा लगानी गरेको ऋण असुल्ने गरेका मन्टुले कसरी रकम दिन्थे र कसरी असुल्थे भन्नेकुरा फेहरिस्तमा प्रहरीले पुगेपछि मात्रै विशेष अनुसन्धान टोलि गठन गर्दै मुद्दा प्रक्रियामा अगाडी बढेको छ । प्रहरीले गत शुक्रबार तीनवटा छुट्टा छु्ट्टै मुद्दामा अनुसन्धानका लागि म्याद थप गरेको छ । अदालतले पक्राउ पूर्जी सदर गरेसँगै प्रहरीले ठगी, अपराधिक लाभ र अपराधिक विश्वास घात शिर्षकका मुद्दामा उनी विरुद्ध अनुसन्धान थालेको छ ।
गत मंसिर २९ गते पक्राउ परेका मन्टुलाई प्रहरीले गालिगलौज मुद्दामा म्याद थप गर्दै आएको थियो । पक्राउपछि प्रमाण नपुगेको भन्दै छोड्न सक्ने संभावना देखिएपछि पीडितले पत्रकारहरुसँग हारगुहार माग गरेका थिए । त्यसपछि प्रहरीले उनी विरुद्धको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक नेतृत्वमा विशेष अनुसन्धान टोलिनै गठन गरेको छ । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले रौनियार विरूद्ध तीन वटा मुद्दामा अनुसन्धान गर्ने प्रक्रिया सुरु भएको बताएका छन् । मन्टु पक्राउ परेसँगै उनी विरुद्ध उजुरी दिन आउने सर्वसाधारणको लर्को लाग्दै आएको छ । प्रहरीले पीडितको अवस्था समेत अध्ययन गर्दै आवश्यक पर्ने दशी संकलन गरेको थियो ।
मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वको टिमले अहिले मन्टु विरुद्धको मुद्दा अनुसन्धान गरिरहेको छ । केहि महिना अगाडी मात्रै मोरङ आएका नायक यस अगाडी रौतहटमा थिए । उनले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री मो।अफताब आलमलाई पक्राउ गर्नेमध्येका एक प्रहरी अधिकारी हुन् । प्रहरीले मद्दा अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोग दर्ता गर्नेछ । त्यसपछि सम्पती सुद्धिकरण मुद्दामा समेत अनुसन्धान हुनेछ । प्रहरीले तमसुक–कपाली, बैंक कारोबार, जग्गा कारोबार, धनिपूर्जा र विवरण जस्ता प्रमाणहरु खोज्ने काम अन्तिम चरणमा पु¥याएको दावी गरेको छ ।
हालसम्म मन्टुले ५० करोड बढी रकम सर्वसाधरणबाट असुलेको दावी गरिदैं आएको छ । मन्टु र उनको श्रीमती ज्योति रौनियारको नाममा करोडौं मूल्य बराबरको ६० कित्ता जग्गा भेटिएको छ । उनी विरुद्ध तीन जनाले २०७७ मंसिर ७ गते सम्पती सुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराई सकेका छन् ।
विभागमा दर्ता भएको २१३१ नम्बरको उजुरीमाअनुसार २०७० सालयता रौनियारले अदालतमा सर्वसाधारणविरुद्ध तीन सयवटा लेनदेन मुद्दा दायर गरेको उल्लेख छ । मिटर ब्याजबापत करिब ५० करोड रुपैयाँ उनले आर्जन गरेको पनि उजुरीमा उल्लेख छ । यस्तै, उजुरी अनुसार विराटनगरका विभिन्न व्यापारीलाई हालसम्म करिब ५० करोड रुपैयाँ लगानी गरेका छन् । अवैध आर्जनबापतको रकम भारत साहिरागन्ज, टावरचोक, मुजफ्फरपुरस्थित ससुरालीमा पु¥याएर लुकाएको पनि उजुरीमा उल्लेख छ । ‘रौनियारको घरमा गैरकाुननी ढंगले आर्जन गरेको १० केजी भन्दा बढी सुन तथा ५० केजी भन्दा बढी चाँदी रहेको अवस्था छ । विभिन्न कम्पनीमा करडौं रुपैयाँ बराबरको शेयर रकम रहेको छ,’ सम्पत्ती सुद्धिकरण विभागमा दर्ता गरेको उजुरी पत्रमा उल्लेखछ । मिटरब्याजमा लगानी गर्ने मन्टुले २ लाख रूपैयाँ ऋण दिए भने ३६ लाख रूपैयाँसम्म असुली गर्ने गरेको पीडितले बताएका छन् ।
मिटरब्याजी मन्टुबाट सय बढी सर्वसाधारण पीडित रहेको मन्जिर हुसेनले बताएका छन् । मन्टुसँग मोरङको धनपालथान, जहदा, रंगेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका वासिन्दाले वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे । तर मन्टुले गलत तरिकाले ती स्थानीवासीलाई ठगी गर्न थालेको उनीहरू बताउँछन् । मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार मिटरब्याजमा लगानी गरेको पैसाँ उठान एजेन्ट गाउँमा खटाउने गरेको थिए ।