विराटनगर । बजेट केन्द्रीत हुने प्रदेश १ का तीन जिल्लामा भ्रष्टचारका उजुरीको संख्या समेत बढ्ने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयले बुझाएको ३० औं वार्षिक प्रगति विवरण अनुसार झापा, मोरङ र सुनसरीमा भ्रष्टचार भएका घटना धेरै देखिएका हुन् ।
प्रदेश १ मा चालु आर्थिक वर्षमा मात्रै ८०६ वटा उजुरी दर्ता भएका छन् । प्रदेश २ को सिराहा र सप्तरी समेत गरि १०१७ उजुरी दर्ता भएकोमा प्रदेश १ का ८०६ रहेका छन् । प्रदेश १ मा सबैभन्दा धेरै भ्रष्टचारका उजुरी सुनसरी जिल्लाबाट दर्ता भएका छन् । सुनसरीमा चालु आर्थिक वर्षमा २३६ वटा उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्षको १९१ समेत गरि सुनसरीबाट जम्मा ४२७ मध्ये १६६ मुद्दा फस्र्यौट भएको छ ।
यसैगरी सुनसरीपछि मोरङका उजुरी धेरै दर्ता भएका छन् । मोरङका २०५ उजुरी अख्तियारको इटहरी कार्यालयमा चालु आर्थिक वर्षमा दर्ता भएको छ । झापाका १०५, ताप्लेजुङ २०, संखुवासभा ४४, सोलुखुम्बु ११, ओखलढुंगा २२, खोटाङ ३३, भोजपुर ३०, धनकुटा २६, तेह्रथुम १३, पाँचथर ३२, इलाम ३३ उजुरी दर्ता भएका हुन् ।