विराटनगरमा भन्सार विभागको आयोजानामा भन्सार जाँचपास पछिको परिक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले राज्यका सबै पक्षले स्वच्छ, पारदर्र्शी र इमान्दारीपूर्वक काम गरे राजश्वको लक्ष्य प्राप्त हुने र मुलुकले समृद्धि हासिल गर्न सक्ने बताएका छन्।
भन्सार विभागले सरकारद्धारा निर्दिष्ट नीति नियमको पालना गराउँदै आयात तथा निर्यात व्यापारमा सहजीकरण गर्दै आएको दाहालले बताए । भन्सार कार्यालयसँग सम्वन्धित समस्या स्थानीय स्तरमै सुल्झाउँदै नीति गत समस्या आएमा समाधानका लागि विभाग तयार रहेको उनको भनाइ छ ।
अध्यक्ष घिमिरेले नीजि क्षेत्रलाई देशको आर्थिक एवं औद्योगिक समृद्धिको सहयात्रीको रुपमा लिन समेत अनुरोध गरेका छन् । मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नविन रिजालले भने ,‘भन्सार जाँचपास भएको मितिले चार वर्षसम्म परिक्षण गर्न पाउने कानूनी व्यवस्थालाई व्यवहारिक बनाउन १ वर्षको समय कायम गरिनु पर्छ । न्यून विजिकरणको शंका लागेमा पैठारी भएका मालसामानहरुको विजक मुल्यमा १० प्रतिशत मुल्य अभिबृद्धि गरी भन्सार विभागले नै खरिद गर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्छ ।’
भन्सार विभाग प्रविधिमैत्री बनाउन सक्रिय रुपमा अघि बढेको जानकारी गराउँदै दाहालले समय अनुकुल नीति नियम परिमार्जन हुने बताएका छन् । प्रमुख भन्सार परीक्षण प्रशासक विष्णुराज ढकालले उद्योगी / व्यवसायीलाई एच.एस कोडको घोषणा बुझेर मात्रै काम गर्न आग्रह गरेका छन् । उनले भने ,' कानूनको परिपालना गर्नु र गराउनु भन्सारको काम हो ।’
कार्यक्रममा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवन शारडाले लगानीमैत्री वातावरण वनाउन सबैको सहयोग हुनुपर्ने धारणा राखेका छन् । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुशिल धनावतले उद्योगी व्यवसायीलाई मात्र दोष दिएर हरेक कुरामा जरिवाना लाउन नहुने धारणा राखेका छन् ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव प्रसाद भण्डारी, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत विमल सापकोटा, संगठनका उपाध्यक्ष प्रदिप मुरारका, कार्यसमिति सदस्य पारस लुनिया, भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष प्रविण जोशी, विराट व्यापार संघका निवर्तमान अध्यक्ष शिव रिजालसहितले व्यवसायीले भन्सारमा भोग्नुपर्ने प्रक्रियागत जटिलताका सम्वन्धमा जानकारी गराउँदै समाधानका लागि अनुरोध गरेका छन्।