विराटनगरमा सदरमुकाम सरेपछि ओझेलेमा परेको रंगेलीको साख फर्काउँछु : दिलिप बगडीया

<span class='c1'>विराटनगरमा सदरमुकाम सरेपछि ओझेलेमा परेको रंगेलीको</span> <span class='c2'>साख फर्काउँछु : दिलिप बगडीया</span>

एकसय वर्ष भन्दा अगाडी सदरमुकाम विराटनगर सरेपछि जीर्ण बन्दै गएको मोरङको रंगेली नगरपालिका पछिल्लो समय एकाएक विकासमा फड्को मार्न सफल भएको छ । स्थानीय सरकार गठन भएसँगै योजना छनौटको रोजाई मात्रै नभई रंगेलीको विकास तिव्रतर गतिमा बढेको हो । संयोगले रंगेली नगरपालिकाको नेतृत्व मोरङमा चिनिएका उद्योगीले गर्ने अवसर समेत पाउनु भएको थियो । उद्योगीको भूमिकाबाट जनप्रतिनिधिको भूमिका निर्वाह गर्दाको अनुभवसहित सयवर्ष अगाडीको रंगेली साख फर्काउने समग्र विकास र योजनाको विषयमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयासँग गरिएको कुराकानीको सार :

उद्योगीबाट जनप्रतिनिधिको भूमिका पाउँदाको दैनिकी कसरी व्यवस्थापन भईरहेको छ ?
नीजि कामको शिलशिलाबाट सार्वजानिक कामको शिलशिलाको दैनिकी फरक हुँदो रहेछ । नितान्त आफ्नोपनबाट नितान्त नागरिकपनमा रुपान्तरण हुन आत्माविद्रोह गर्नुपर्ने स्थिति सिर्जना हुँदोरहेछ । राजनीतिमा समेत संलग्न भएका कारण केहि अनुभवलाई निखार्दै जनप्रतिनिधिको भूमिका सम्हाल्न थालेपछि उद्योगीको हैसियत सकियो । अहिले सम्पूर्ण समय नागरिकको हितका लागि खर्चेर बसेको छु, जहाँ नाफाको सोच छैन तर जति समय खर्च गरेपनि नपुग्दो रहेछ ।

स्थानीय सरकारको प्रमुख भएपछि तीनवर्षे अनुभव चाँहि कस्तो रह्यो ?
ज्ञान अभाव भएका प्रशासनिक र प्राविधिक कर्मचारीको भरमा योजना निर्माण गर्नुपर्ने, बजेट व्यवस्थापन र कार्यन्वयन गर्नुपर्ने प्रारम्भिक चरणको अवस्था र अनुभव फरक थियो । विस्तारै ती समस्या हट्दै गएर नगरपालिकाको प्रशासनिक र प्राविधिक क्षेत्र सुधारिएको छ । प्राविधिक क्षेत्र अहिले चुस्त बनेको छ । अब योजनाहरु कमसल हुन्छन् भन्ने चिन्ता हट्दै गएको छ । निर्वाचित जनप्रतिनिधि जसरी हिड्छन्, कर्मचारी र प्राविधिक त्यसरी नै हिड्ने रहेछन् । प्रत्येक योजनामा कार्यपालिका भित्रका प्रत्येक सदस्यले चासो राख्ने गरे मात्रै निर्माणले सार्थकता पाउने रहेछ ।

रंगेलीको सयवर्ष भन्दा पुरानो साखलाई फर्काउन तपाँईले कस्ता–कस्ता योजनालाई प्राथमिकतामा राख्दै आउनु भएको छ ?
यो निक्कै भावनासँग जोडिएको सवाल हो । जसको जवाफ भावनामै आधारित भएर दिदाँ मात्रै पुग्दैन । जसका लागि सोचको आवश्यकता छ । सोच कार्यन्वयनका लागि योजना र योजना कार्यन्वयनका लागि बजेटको आवश्यकता पर्नेरहेछ । उसबेला मुकास सरेसँगै विस्थापित भएको औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्दैछ रंगेली । जसका लागि संघीय सरकारका योजना र प्रदेश सरकारका योजना भित्र्याउने पहल र प्रयत्न सफल बन्नुपर्ने थियो र अहिलेसम्म साथ समेत पाईरहेकै छु ।

योजना छनौट र कार्यन्वयनमा कार्यपालिका भित्रको टिम स्प्रिट एउटै छ की बहुमत र अल्पमतको दवाव र प्रभाव छ ?
कार्यपालिका भित्र बहुमत नहुँदा कतिपय योजना छनौटमा अनावश्यक दवाव र प्रभावसँग संघर्ष गर्नुपर्ने हुँदोरहेछ । त्यो अफ्ठ्यारोले र खिचातानीले सोचे अनुसारको गति प्रदान गर्न असहज हुँदोरहेछ । सिमित बजेटसँग असिमित नागरिकको चाहना जोड्ने कुरा त्यसैपनि कठिन छ । न्यूनआय भएका स्थानीय तह अगाडी बढाउन प्रदेश र संघका योजना भित्र्याउन अतिआवश्यक हुन्छ । त्यसका लागि स्थानीय तहले गौरवका आयोजना छान्नुपर्ने, त्यसको सान्दर्भिकता पुष्टि हुने आधार तयार गर्नुपर्ने हुन्छ ।स्थानीय तहको प्रमुखको हैसियतबाट प्रदेश र संघीय सरकारसँग राखिएको अपेक्षाहरुमा सहज÷असहज कस्तो पाईरहनु भएको छ त ?

थोरै बजेटमा अलमलिएको रंगेलीको विकासमा प्रदेश र संघीय सरकारका योजनाको साथले नै उत्साह थपिदिएको छ । यसरी हेर्दा म भाग्यमानी स्थानीय तहको प्रमुखको रुपमा आफूलाई उभ्याउँछु । प्रदेश र संघका योजना रंगेलीमा भित्र्याउन सक्नु नै आफ्नो सफलता मानेको छु । समग्र विकासमा माथिल्लो सरकारका योजनाको प्रभावले रंगेलीको नेतृत्वमा जर्बरजस्त स्थापित भईरहेको छु ।

रंगेली नगरपालिकाको गठनसँगै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरेपछि विकास कामहरु चाँहि के–के भए त ?
एक मिटर पनि कालोपत्रे सडक नभएको रंगेली नगरपालिका क्षेत्र भित्र अहिले ३० किलोमिटर सडक कालोपत्रे भईसकेको छ । ८० किलोमिटर सडक कालोपत्रे हुने प्रक्रियामा छ । ठेक्का व्यवस्थापन भईसकेका निर्माणाधिन चरणका संघ र प्रदेशका योजना मात्रै सम्पन्न हुँदा रंगेलीले ४५ किलोमिटर कालोपत्रे सडक उपहार पाउँछ । जीर्ण बसपार्कको स्तरोन्नती गरेर आधुनिक बनेको छ । जिल्लाकै दक्षिणवर्ती क्षेत्रको चर्चित हटियाको व्यवस्थापन गरिएको छ । त्यस बाहेक संघीय सरकारको ४७ करोड रुपिँयाको लागतमा चार बिघा क्षेत्रमा कृषि बजार निर्माणको काम भईरहेको छ । पाँच करोड लागतमा दोहमुना पशु हटिया निर्माणको अन्तिम चरणमा पुगेको छ ।
प्रदेश सरकरको १७ करोडको योजनामा पर्यटकीय संसारीमाईस्थान क्षेत्रको सौन्दर्यकरण र संरचना निर्माण भईरहेको छ । तीन तहका सरकारबीचको साझेदारीमा ९ करोडको लागतमा रंगेली अस्पतालको स्तरोन्नती भईरहेको छ । रंगेली बजार क्षेत्रको ६ किलोमिटर क्षेत्रमा हुलाकी राजमार्ग एकसय फिट चौडाईमा विस्तार भईरहेको छ । खेलातटबन्धतर्फ डाँस–बक्राहा, मरिया–बक्राहा, चिस्याङ्ग–लोहन्द्राको काम भईरहेको छ । ठूला आयोजनाका लागि संघीय सरकारको बजेट आवश्यक पर्ने भएपनि साना–तिना काममा स्थानीय तहले प्राथमिकता दिएको छ ।पूर्वाधार निर्माणमा रंगेलीले नयाँ आयाम थपेको चर्चा त त्यसैपनि छ, तर शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रका योजनालाई खासै प्राथमिकता दिएको देखिदैन ?

तीनवर्षसम्म बजेट निकासा र मागको प्राथमिकता समेत पूर्वाधार क्षेत्र केन्द्रीत थियो । सिमित बजेटका भरमा प्राथमिकतामा राख्न नसकिएका क्षेत्र धेरै छन् । तर, तीनवर्षको सक्रियताले पूर्वाधारतर्फ रंगेलीले नयाँ फड्को मार्ने आधार निर्माण भएको छ । आगामी बजेट शिक्षा, स्वास्थ्य र कृषि उत्पादनको क्षेत्रमा प्राथमिकीकरण गर्ने लक्ष्य राखिएको छ । भूगोलको हिसाबले ठूलो भएको रंगेली जनसंख्या कम छ । त्यहि पनि ९ वटै वडामा कार्यलय व्यवस्थापन र स्वास्थ्य चौकीमार्फत सेवा प्रवाह भईरहेको छ । प्रत्येकका घरबाट कुपी विस्थापित गरेर बिद्युत विस्तार गरि बिजुली बत्ति उपलब्ध गराइएको छ । रंगेलीका सबै घरमा एम्बुलेन्स सेवा पु¥याउने उद्देश्यसहित निर्माण गरिएका सडक सञ्जालले घरदेखि टोल, टोलदेखि वडा कार्यालय र वडा कार्यालयदेखि नगरपालिकाको कार्यालयसम्मको सिधा सम्पर्क स्थापना गरिएको छ । तीन वर्षे इन्जिनियरिङ अध्ययन÷अध्यापनको सुविधा रंगेलीमै निर्माण गरिएको छ ।

पुरानो सदरमुकामको साख फर्काउने आगामी योजना चाँहि कस्ता–कस्ता छन् ?
रंगेली पुरानो सदरमुकामबाट नयाँ शहरमा रुपान्तरण भईसक्यो । रंगेलीको कालिमन्दिर र सन्सारी माईस्थान मन्दिर पूर्वकै प्रख्यात शक्तिपीठ हुन् । श्रद्धाले यी दुई शक्तिपीठमा आउने नेपाली मात्रै नभई भारतीय नागरिकको ठूलो हिस्सा छ । जसलाई रंगेलीमै एकदुई दिनसम्म रोक्ने योजनासहित सुविधा सम्पन्न धर्मशाला निर्माणाधिन चरणमा छ । स्थानीय तहको गठनसँगै रंगेलीमा मात्रै निजी क्षेत्रका १५ बैंकको शाखा स्थापना भईसकेको छ । होटल क्षेत्रमा लगानी बढेको छ । अस्पताल खुलेको छ । निजी लगानीमा शैक्षिक संस्था स्थापना गर्ने होडबाजी चलेको छ । कृषिमा तराईको नगदे बालि जुटको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडी सारिएको छ । आफ्नै उत्पादनबाट नागरिकको गुजारा चलाउनुपर्छ भन्ने मानसिकताले बिउबिजन वितरणदेखि बजार व्यवस्थापनका काम प्राथमिकतामा राखिएको छ ।पुरानो व्यापारीक केन्द्रको पहिचान पुनः फर्कन सक्छ भन्ने लागेको छ ?

पुरानो व्यापारीक केन्द्रको पुर्नस्थापनाका लागि भारतसँग जोडिएका छोटी भन्सार नाकालाई सरकारले सञ्चालनमा ल्याउनुपर्दछ । छोटी भन्सारबाट मालवस्तु आयात गर्दा तोकिएको सीमालाई सरकारले बढाउनुपर्दछ । रंगेलीलाई केन्द्रभागमा पारेर झापा–मोरङ–सुनसरी जोड्ने हुलाकी राजमार्गको निर्माण सम्पन्न भईसक्दा रंगेली विकासको स्वरुप नयाँ चरणमा प्रवेश गर्नेछ । आन्तरिक आय सालाखाला ढेड करोड मात्रै भएको रंगेलीमा सेवा क्षेत्रका कार्यालयहरु स्थापना गरिए मोरङको दक्षिणवर्ती व्यापारीक र पर्यटननगरीको हैसियत फर्काउन सक्छ ।

आफ्नै कार्यकालमा सम्पन्न हुने योजनाले तपाँई आफूलाई रंगेलीका नागरिकले नेतृत्वको रुपमा स्वीकार गर्लान् की अस्वीकार ?
अहिलेसम्म सबै विकास योजनाका लागि नागरिकले सहयोग गरिरहेका छन् । साँघुरा बाटाहरुलाई चौडा पार्ने काम नगरवासीकै सक्रियतामा सफल भएको छ । सिंचाई, तटबन्ध, सडक, बिद्युत विस्तारका लागि नागरिकले माग गरेका योजनालाई प्राथमिकतामा राखेर अगाडी बढाइएको छ । जसको परिणाम सकारात्मक रुपमा देखिदैं गएको छ । आफैंले नसोचेको हुलाकी राजमार्गको काम आफ्नै पालामा सम्पन्न हुनेछ । गान्धी–मनमोहन मार्ग, उत्तर–दक्षिण सीमा सडकसहित तीन अर्ब लगानीका दशवटा पूर्वाधारका योजना निर्माणाधिन चरणमा छन् । सबै सफलतापूर्वक सम्पन्न भए, रंगेलीको नेतृत्व हैसियतमा मलाई कुनै नागरिकले अस्वीकार गर्ने अवस्था रहने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्