विराटनगर । नौदिनपछि विराटनगर भन्सार कार्यालयमा रोकिएका मालवहाक सवारीका मालवस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) व्यवसायिलाई स्वघोषणा गराएर जाँचपास गरिएको छ । भन्सार विभागकै निर्देशन बमोजिम एक पटकलाई व्यवसायिले यो सुविधा पाएका हुन् ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार भन्सार बिन्दुमा प्रवेश भएका मालवस्तुको हकमा अब व्यवसायीले मूल्य स्वघोषणा गर्न पाउनेछन् । त्यसका आधारमा भन्सारको प्रणालीमा तथ्यांक प्रविष्ट हुनेछ । त्यसपछि सामान छुट्नेछ । सरकारले एमआरपी घोषणाका लागि पहिलो दिएको १५ दिन भित्र यसको व्यवस्थापन गर्न नसक्नेहरुका लागि यो बाटो खुलाइएको भन्सार प्रमुख श्रेष्ठको भनाई छ ।
त्यसपछि अर्डर भएर आयात हुने मालवस्तुका हकमा भने उत्पादनस्थलमै एमआरपी उल्लेख भएको हुनुपर्ने नियम यथावत लाग्नेछ । ‘हाम्रो उद्देश्य भनेको एमआरपी बिनाको मालवस्तु भन्सार बिन्दुबाट जाँचपास नगर्ने हो, त्यहि उद्देश्य बमोजिमको निर्देशनलाई कार्यन्वयनमा ल्याउन कडाई गरिनेछ’ प्रमुख भन्सार अधिकृत श्रेष्ठले भने–१५ दिने म्याद अवधीको डिमान्ड भएका मालवस्तु सच्याउने अवसर दिइएको हो । त्यसपछिकालाई हुँदैन । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले भन्सारले तत्काल मालवस्तु जाँचपास सहजीकरण गर्ने निर्णय भएको बताउँछन् । त्यसका आधारमा बुधबार साँझसम्म धेरै गाडी छुटेका छन् ।