ताप्लेजुङ
ताप्लेजुङका आगलागीपीडितलाई कांग्रेसले राहत स्वरुप रकम वितरण गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले दोभानलगायतका स्थानका अग्निपीडितलाई राहत प्रदान गरेको हो । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई कांग्रेसले छ लाख रुपैयाँ प्रदान गरेको छ ।
प्रतिपरिवार नौ हजारदेखि १८ हजार रुपैयाँसम्मका दरले राहत रकम वितरण गरिएको कांग्रेस ताप्लेजुङले जनाएको छ । बिहीबार दोभानबजारमा राहत वितरण कार्यक्रमको आयोजना गरी नगद नै वितरण गरिएको हो । कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, पूर्वसभापति केशव दाहाललगायतले राहत रकम हस्तान्तरण गरेका थिए । केन्द्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी राहत रकम पठाएको थियो ।
यस्तै त्रिचन्द्र कलेजमा अध्ययनरत ताप्लेजुङका विद्यार्थीको अगुवाइमा सङ्कलित ६० हजार रुपैयाँसमेत सोही कार्यक्रमका बीच वितरण गरिएको छ । गत फागुन १८ गते भएको आगलागीबाट दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ६० परिवार विस्थापित बनेका थिए ।