लकडाउनको मौका छोपेर व्यापारीद्वारा मुल्यवृद्धि

लकडाउनको मौका छोपेर व्यापारीद्वारा मुल्यवृद्धि

नेपालगञ्जमा बन्दाबन्दी (लकडाउन)को मौका छोपेर व्यापारीले मनोमानी रुपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरेका छन् । कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा यही वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको छ । बन्दाबन्दीमा सहज र सरल रुपले उपलब्ध गराउनुपर्नेमा व्यापारीले कालोबजारी गरी मूल्यवृद्धि गरेको पाइएको छ ।

नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बन्दाबन्दीको हल्लासँगै प्रत्येक तरकारीमा किलोमा २० देखि ३० रुपैयाँ वृद्धि गरेको पाइएको छ । बन्दाबन्दीअघि प्रतिपाँच केजी रु १२० मा बिक्री भएको आलु अहिले रु २०० तिरेर किन्न बाध्य भएको नेपालगञ्ज १० निवासी उपभोक्ता मङ्गलीमाया श्रेष्ठले बताइन् ।

उनका अनुसार, आलु मात्र नभई, सिमला खुर्सानी, गोलभेँडा, भिण्डी, करेला, बोडी, बन्दालगायतका तरकारीमा पनि बन्दाबन्दीभन्दा चर्को मूल्य तिर्न बाध्य भएका छन् । नेपालगञ्जको बिपी चोकस्थित तरकारी बजारमा पनि तरकारी खरीद गर्न पुगेका उपभोक्ताले पनि यस्तै समस्या झेल्नु परेको छ ।

बन्दाबन्दीको मौका छोपेर अत्यधिक महङ्गो भएपछि तरकारी नै खरीद नगरेर घर फर्किएको नेपालगञ्ज– ६ निवासी गृहणी सिर्जना रानाले गुनासो गरिन् ।

तरकार मात्र नभई खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य सामग्रीमा पनि नेपालगञ्जमा कालोबजारी ह्वात्तै बढेको छ । ग्यास, नून लगायतका अत्यावश्वकीय वस्तुको कालोबजारी गरी महङ्गो दरमा बिक्री भईरहेको रानाले बताइन् । विहान ६ बजेदेखि ९ बजे सम्म दैनिक उपभोग्य सामाग्री खरिदका लागि तोकिएको समयमा पनि उस्तै मनपरी भएको पाइएको छ । सामान्य अवस्थामा भन्दा बन्दाबन्दीको समयमा कालोबजारी हुँदा निम्न वर्गिय, मजदुर र गरिखाने सर्वसाधारण झनै समस्यामा परेका छन् ।

एकै दिनमा मूल्य वृद्धि गर्न नपाइने र स्टक सामाग्रीलाई पनि मुल्य बढाएर बिक्री गर्न नपाइने कानुनी व्यवस्था रहेको भएपनि बन्दाबन्दीमा आँखा छलेर मुल्य मेटेर सामाग्री बेच्ने गरेको पाईएको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्