राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शब्दमा भत्सर्ना एवं निन्दा गरेको छ । विद्रोहीको आक्रमणमा परेर शान्ति सैनिकमा आबद्ध मलावीका एक सैनिकको ज्यान गएको थियो ।
राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा परिषदका सदस्य राष्ट्रहरुले शान्ति अभियानका सैनिकमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय कानुन बमोजिम युद्ध अपराधका रुपमा लिइने उल्लेख छ । आक्रमणको अनुसन्धान गर्न र अपराधीलाई न्यायको कठघरामा ल्याउन पनि कङ्गोको सरकारसँग अनुरोध गरिएको छ ।
मोनुस्को नामको यस शान्ति अभियानलाई तोकिएका जिम्मेवारी पूरा गर्न र राष्ट्रसंघीय शान्ति सैनिकको सुरक्षालाई ध्यान दिन पनि कङ्गो सरकारलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ |विज्ञप्तिमा मोनुस्का अभियानमा सैनिक र प्रहरी पठाएर मद्दत गर्ने राष्ट्रहरुप्रति सुरक्षा परिषदले आभार पनि व्यक्त गरेको जनाइएको छ ।
-सिन्ह्वा