डोटी
कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवानेता लालबहादुर कठायतको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो ।
लामो राजनीतिक इतिहास बोकेका कठायत जिल्लामा निडर, साहसी तथा मिलनसार युवा नेताका रूपमा चिनिँदै आउनुभएको थियो । उहाँको मृत्युले सिङ्गो नेकपा एमाले डोटीसहित प्रदेश कमिटी स्तब्ध भएको एमालेका जिल्ला अध्यक्ष रामबहादुर ऐरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कठायतजी पार्टीका लागि एक कर्मठ, इमान्दार र त्यागी नेता हुनुहुन्थ्यो, उहाँको निधनले पार्टीलाई अतुलनीय क्षति भएको छ ।” केही दिन पहिले कोरोना परीक्षण गर्दा उहाँको पिसिआर पोजेटिभ देखिएको थियो । उहाँसहित कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।