विराटनगर । भन्सार छलेर भित्र्याइएको पाँचलाख मूल्य बराबरको रजनीगन्धा सशस्त्र प्रहरी बलले विराटनगरमा नियन्त्रणमा लिइएको छ । रजनीगन्धा सुरेश–सवनमका व्यक्तिहरुले टाउकोमा बोकेर भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेको हो । उनीहरुको घरमा छापा हान्नेदेखि गाडी नियन्त्रणमा लिएर भन्सार बुझाउनेसम्मको काम गरेपछि सुस्ताएका थिए । तर, विभिन्न ठाउँबाट पैदल क्यारिङ्गवालालाई प्रयोग गर्न थालेको खुलेको छ । यद्यपी यो रजनीगन्धा आफ्नो नभएर अन्यको भएको उनीहरुको दावी छ । उनीहरुले सशस्त्रले पक्राउ गरेको यो रजनीगन्धा मो.अकबरले भित्र्याएको हुनसक्ने आशंका गरेका छन् ।
सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ५ लाखभन्दा बढी मूल्यको रजनीगन्धा मंगलबार विराटनगर–१८ मुसहर बस्ती नजिकको धानखेतबाट बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी जहदा भुटाहा, मोरङबाट खटिएको पैदल गस्ती टोलीले देखेपछि रजनीगन्धा लिएर आउँदै गरेका व्यक्तिले विराटनगर महानगरपालिका–१८ स्थित मुसहर बस्ती नजिकको धानखेतीमा छोडेर भागेको आशंका गरिएको छ । भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ५ बोरा रजनीगन्धा बरामद गरिएको हो । बरामद गरिएको रजनीगन्धाको अनुमानित मूल्य रु. ५ लाख १९ हजार ८४० रहेको अनुमान गरिएको छ । नियन्त्रणमा लिइएको रजनीगन्धा भन्सारमा बुझाएपछि कारवाही चलाइन्छ ।