काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेका थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको नेकपा एमाले संसदीय दलका नेता ओलीलाई बिहीबार राति प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । संविधानको धारा १०० को उपधारा १ अनुसार प्रतिनिधि सभामा विश्वासको मतका लागि गत वैशाख २७ गते राख्नुभएको प्रस्ताव पारित हुन नसकेपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनुभएको थियो ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई तीन दिनभित्र दिएको समयसीमामा कसैको पनि दाबी नपरेपछि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओली प्रधानमन्त्री हुनुभएको हो ।
नवनियुक्त प्रधानमन्त्री ओलीले संविधानअनुसार एक महिनाभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
२०७४ सालमा भएको प्रतिनिधि सभामा सबैभन्दा ठूलो पार्टी भएको एमाले संसदीय दलको नेता ओली २०७४ साल फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । ओली तीन कार्यकाल प्रधानमन्त्री हुने पहिलो वामपन्थी नेता हुनुभएको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई पटक प्रधानमन्त्री हुनुभएको थियो ।
ओली संविधानसभाबाट संविधान जारी भएपछि पहिलोपटक २०७२ साल असोज २५ गते प्रधानमन्त्री हुनुभएको थियो ।
२०६४ मा भएको पहिलो संविधानसभा बाहेक २०४८ पछिका सबै निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुनुभएका ओली २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्री हुनुभएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो सरकारमा उपप्रधान र परराष्ट्रमन्त्री हुनुभएको थियो ।
-एनटीभी