विराटनगर । मोरङका विभिन्न तीनवटा अस्पतालमा र वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका १० जना कोरोना भाइरस सङ्क्रमित नागरिकको मृत्यु भएको छ ।
उनीहरुको मृत्यु शुक्रबारसाँझदेखि आज दिउँसोसम्ममा भएको हो । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना, नोबेल शिक्षण अस्पतालमा चारजना तथा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा एक जना र वीपीमा २ जना सङ्क्रमितको मृत्यु भएको हो ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक महिलासहित तीन सङ्क्रमितको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ की ५८ वर्षीया महिलाको शनिबार बिहान २ बजेतिर मृत्यु भएको छ । केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार सङ्क्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि वैशाख २३ गते भर्ना गरिएको थियो । मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको उनको भनाइ छ ।
विराटनगर–१० का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोसीमै शुक्रबार राति मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वैशाख २५ गते भर्ना गरिएका वृद्धमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी राजवंशीले दिए । त्यस्तै विराटनगर–९ का ६७ वर्षीय वृद्ध पुरुषको पनि राति नै उपचारका क्रममा कोसीमा मृत्यु भएको छ । राजवंशीका अनुसार कोरोना सङ्क्रकिा उनलाई उपचारका लागि वैशाख ३० गते भर्ना गरिएको थियो ।
नोबेलमा विराटनगर महानगरपालिका–१ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचारकै क्रममा उनको बिहान ५ः२५ बजेतिर मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि सङ्क्रमित पुरुषलाई उपचारका लागि वैशाख २६ गते भर्ना गरिएको थियो ।
यसैगरी इटहरी–२ निवासी ५५ वर्षीया महिलाको शनिबार ११ बजे मृत्यु भएको छ । होम आईसोलेशनमा बसिरहेकी उनमा समस्या भएपछि बिहान भर्ना गरिएको थियो । विराटनगर–८ का ६४ वर्षीय वृद्ध पुरुषको शुक्रबार राति १०ः१५ बजेतिर नोबेलमै मृत्यु भएको छ । दाहालका अनुसार पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख २१ गते भर्ना गरिएको थियो । भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा वृद्धको मृत्यु भएको उनले बताए ।
कोरोना सङ्क्रमित विराटनगर–५ की ५२ वर्षीया महिलाको पनि नोबेलमै उपचारका क्रममा ज्यान गएको छ । उनको बिहानका राति १२ः४५ बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए । उनका अनुसार महिलालाई उपचारका लागि वैशाख २९ गते भर्ना गरिएको थियो ।
विराट शिक्षण अस्पतालमा सप्तरी घर भएका कोरोना सङ्क्रमित ५३ वर्षीय पुरुषको शुक्रबारसाँझ मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार उपचारका लागि उनलाई बिहान १० बजेतिर मात्रै भर्ना गरिएको । अवस्था गम्भीर रहेका पुरुषको उपचारका क्रममा साँझ ६ः१५ बजेतिर मृत्यु भएको जानकारी उनले दिए ।
वीपीमा बैशाख ३१ गते भर्ना गरिएका धरान–१५ का ८५ वर्षीय पुरुष र बैशाख ३० गते भर्ना गरिएका धरान–९ का ८८ वर्षीय पुरुषको मृत्यु भएको हो ।