९१ वर्षको बुढो शरिर तर वीरगन्ज महानगरपालिकाकी उपमेयर । यो परिचय बोक्ने उपमेयर शान्ति कार्कीको परिचयमा अब थप एउटा पंक्ति थपिएको छ । उहाँले कोरोनाभाईरस संक्रमणलाई पराजित गरेर संक्रमणमुक्त हुनु भएको छ। संक्रमण देखिएको १६औँ दिनमा कोरोना संक्रमणमुक्त हुँदै उहाँले कोरोनाभाईरसलाई पराजित गर्नु भएको छ। उहाँ आज बिहीबार अस्पतालबाट घर फर्किदाको क्षण कुनै ठुलो सफलता प्राप्त गरेभन्दा कम थिएन उहाँको लागि अनि उपचारमा संलग्न चिकित्सक तथा हजारौं शुभेच्छुकका लागि ।
उहाँमा कोरोना संक्रमण भएको गत वैशाख २१ गते पुष्टि भएको थियो ।
तर संक्रमण पुष्टि हुनु ४ दिन अगाडि नै अर्थात वैशाख १७ दिउसो ४ बजे तिर उहाँलाई अक्सिजनको कमी भएपछि घरमै अक्सिजन दिइएको थियो । र अक्सिजनको लेवल ठिक भएपछि भोलिपल्ट नै अक्सिजन हटाईएको थियो । र पछि परिक्षणमा कोरोनाभाईरस संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि चिकित्सकको सल्लाहमा छातीको एक्सरे र सिटी स्कयान गर्दा अवस्था राम्रै देखिएपछि होम आइसोलेसनमा राखिएर उपचार भईरहेको थियो । पछि वीरगन्ज महानगरपालिकाले वैशाख २४ मा घडिअर्वा पोखरीनजिकैको गोपाल मण्डलीमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएपछि उपमेयर कार्की त्यसमा पहिलो संक्रमितको रुपमा भर्ना हुनु भएको थियो । र यि सबैको करिब १६ दिन पछि आज उहाँले कोरोनाभाईरसलाई पराजित गर्नु भयो ।
अस्पतालबाट घर जाँदै गर्दा उपमेयर कार्कीले उच्च मनोबल र दृढ इच्छाशक्तिलाई कोरोनाले केहि गर्न नसक्ने बिचार राख्द सुझाव दिनु भयो ‘कोरोनाबाट डराउनु चै हुँदैन , यसलाई जितिन्छ ’।
हालसम्म अविवाहित उहाँ पुर्णरुपमा राजनितिमा सक्रिय हुनुहुन्छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर उपमेयरमा बिजयी उहाँले झण्डै ६ दशकदेखि निरन्तर रुपमा राजनीतिमा लागेर पनि त्यसअघि कुनै लाभको पदमा बस्नु भएको थिएन ।