विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी (ब्लाक फंगस) संक्रमितको जटिल शल्याक्रिया सफल भएको छ । पहिलो शल्याक्रिया गरिएका काठमाण्डौंका ६१ वर्षीय पुरुष उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
वीपीमा जेठ १३ गते आएका बिरामीको अनुहारको देब्रे पाटो सुन्निएको थियो । देब्रे आँखा रातो भएर अति धेरै दुखेपछि अस्पतालको सम्पर्कमा आएका पुरुषको जेठ १४ गते शल्याक्रिया गरिएको सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिनुभयो ।
कोरोना संक्रमित भएपछि विर अस्पतालमा उपचारपछि जेठ ३ गते डिस्चार्ज हुनु भएका उहाँलाई अक्सिजन थेरापी साथै स्टेरोइड दिइएको थियो । डिस्चार्ज भएको तीनदिनपछिदेखि अनुहारको देब्रे पाटो दुख्न थालेपछि उहाँ वीपीको सम्पर्कमा पुग्नु भएको सह–प्रवक्ता पोरखेलले जानकारी दिनुभयो ।
वीपीमा परीक्षणका क्रममा नाकको देब्रे पट्टीको प्वालभित्रको पछाडीको भागसम्म पिप जमेको पाइएपछि शल्याक्रिया गरिएको थियो । नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. शंकर प्रसाद साहको नेतृत्वमा डा. राजन मुल्मी, एनेस्थेसिया विभागबाट प्रा.डा. विरेन्द्र प्रसाद साह, प्रा.डा. कृष्णा पोखरेल, डा. जेनी बज्राचार्य, नर्सहरु सरिता ठाकुर, रेणुका राजवंशी तथा हेल्पर दुर्गा बी.क. कोटोलीले उक्त शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेको थियो ।
प्रदेश १ मा पहिलो शल्याक्रिया सफल भएको हो । बिरामीलाई इमरजेन्सी इण्डोस्कोपिक सर्जिकल डिब्राईमेन्ट वीथ लेफ्ट मिडल टर्बीनेक्टोमी एण्ड पोस्चरियार सेप्टेकटोमी गरिएको थियो । शल्यक्रियाको क्रममा नाकभित्रको कालो भएको सो भागलाई निकाली ल्याब परिक्षण गर्न पठाइएको थियो । परीक्षणको रिपोर्टले कालो ढुस्सी (म्युकरमैसोसिस ब्लाक फंगस) को संक्रमणे पुष्टि भएको छ ।
कोरोना संक्रमितहरुलाई नै देखिने एक प्रकारको घातक संक्रमण ब्लाक फंगल्सको समयमा उपचार नपाए विरामीको ज्यान जानसक्ने वीपीका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.शंकर प्रसाद साह बताउनुहुन्छ ।
शल्यक्रिया पश्चात उक्त विरामीलाई थप उपचारका लागि प्रतिष्ठानको नाक, कान तथा घांटी वार्डमा भर्ना गरेको थियो । नाक, कान तथा घांटी विभागका प्रा.डा. श्याम थापा क्षेत्री तथा सो विभागका अन्य विशेषज्ञ चिकित्सकहरुबाट नियमितरुपमा इण्डोस्कोपी तथा उपचार गरिएको थियो । मेडिसिन विभाग तथा आँखा विभागका विशेषज्ञ चिकित्सकहरुको पनि परामर्श लिई उपचार गरिएका कारण पूर्ण स्वास्थ्य लाभ लिएर बिरामी असार ४ गते डिस्चार्ज भएको सह–प्रवक्ता पोखरेलले बताउनुभयो ।