रंगेली । मोरङको रंगेली नगरपालिकाले बजार क्षेत्रमा सडकको दायाँबायाँ बृहत बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । विरुवा रोप्ने, त्यसको सुरक्षा र संरक्षण गर्ने योजनासहित रंगेलीले बजार क्षेत्रको सौन्दर्यकरणका लागि बृक्षारोपण सुरु गरेको हो ।
सोमबार रंगेली नगरपालिका मेयर दिलिप वगडीयाले सडकको दायाँबायाँ क्षेत्रमा रुख रोपेर कार्यक्रमको थालनी गर्नु भएको थियो । नगरले नेपाल–भारत सीमा क्षेत्र चोप्रा–निचामारी–बक्राह पुलसम्मको करिव ४ किलोमिटर क्षेत्रको सडक दायाँबायाँ रुख रोप्ने भएको छ । मेयर वगडीयाले वातावरणमैत्री र बजारको सौन्दर्यताका लागि रुख रोप्ने, सुरक्षा र संरक्षण गर्नका लागि नगरवासीसँग अपिल गर्नु भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष मनोज कुमार अग्रवालले सडकको दाँयाबाँया दुवैतर्फ बजारलाई समेत सौन्दर्यता दिने र वातावरणलाई स्वच्छ राख्न विभिन्न प्रजातिका विरुवाहरु रोपिने बताउनुभयो । वन तथा भू–संरक्षण विभाग र रंगेली नगरपालिकाको साझेदारी र रंगेली नगरपालिकाको ३० प्रतिशत लगानीसहित करिव ५९ लाख ८९ हजार ३ सय २५ रुपैँयाको लगानीमा बृक्षारोपण सुरु गरिएको हो ।
सो क्षेत्रमा करिब १ हजार ६ सय विरुवा रोपिने र सुरक्षाको लागि फलामे तारजालीसहितको ‘केज’ लगाइने समितिका उपाध्यक्ष शिशुपाल यादवले बताउनुभयो । सडकमा ५ मिटरको दुरीमा मेन्गो स्ट्रीप, गुलमोहर, निम, शिरीष कपुर, ज्याक्यारेन्डा लगायतको विरुवा रोपिनेछ ।