विराटनगर । भारी तथा निरन्तरको बर्षा जारी रहे सँगै सप्तकोसी नदीको बहाव १४ घण्टाको अन्तरमा ७३ हजार ३५० क्यूसेक पानीको बहाव बढेको छ । शनिबार मध्यनान्ह सप्तकोशीमा २ लाख ३१ हजार ५५५ क्यूसेक पानी मापन गरिएको छ । हिजो बेलुका १ लाख ५८ हजार २०५ क्यूसेक पानी मापन गरिएको थियो ।
आज शनिबार बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको थियो । उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव ७३ हजार ३५० क्यूसेक बढेको हो ।
बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्था रहेको छ । बिहानदेखि भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसी नदीमा बहाव बढ्नुको मुख्य कारण पहाडी क्षेत्रमा भइरहेको ठूलो वर्षा हो ।
बहाव बढेपछि आज बिहानसम्ममा कोसी ब्यारेजका २९ वटा ढोका खुला गरिएको छ । शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको थियो। कोसी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।
पानीको सतह बढ्दा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ । पहाडी तथा तराई क्षेत्रमा वर्षा जारी रहेका कारण कोसीको बहाव अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ । त्यसपछि नदीको दक्षिण भेगतिर बसोबास गर्नेलाई सचेत र सतर्क गराइने प्रहरीले जनाएको छ ।