विराटनगर । प्रदेश १ का तीन जिल्लाका सीमा क्षेत्रबाट गौंडा बाँडेर भईरहेको तस्करी रोक्न सबै हिसाबले प्रहरी परिचालन गरिने प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसीले बताउनु भएको छ । झापा, मोरङ र सुनसरीमा यस अगाडी प्रहरीसँगकै मिलेमतोमा तस्करहरुले गौंडा बाँडेर गरिरहेको तस्करी नियन्त्रणका लागि विशेष चासो राखिने डिआईजी बिसीको भनाई छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रमुखको जिम्मेवारी लिएर आउनु भएका बिसीले सोमबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्नु भएको थियो । त्यस क्रममा आफ्नो कार्ययोजना बताउँदै डिआईजी बिसीले तस्करी नियन्त्रणमा विशेष चासो राख्ने बताउनु भएको हो ।
नागरिकमैत्री प्रहरी, अपराध अनुसन्धानमा पारदर्शिता, अपराध नियन्त्रणमा कडाई, प्रहरीहरुको आर्थिक पारदर्शिता, मानव अधिकारको संरक्षण र पालना र सीमा जोडिएको क्षेत्रमा तस्करी नियन्त्रण गर्ने पाँच योजना नयाँ डिआईजीले अगाडी सार्नु भएको हो ।
प्राथमिकतामा सीमा क्षेत्रबाट भईरहेको तस्करी नियन्त्रणका लागि बहुआयमिक ढंगका काम गर्ने डिआईजी बिसीको दावी छ । उहाँले खुल्ला सीमा भएका कारण पूर्ण रुपमा तस्करी नियन्त्रण गर्न कठिनाई हुने र तस्करीका अन्य विविध कारणहरु रहेको समेत बताउनुभयो ।