बिर्तामोड । कोभिड–१९ सङ्क्रमण उच्च रहेको झापाका १० पालिकाले नियन्त्रणका लागि पुनः सिल गरेका छन् । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो ।
झापाका पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबल भने अहिलेसम्म यथावत् नै राखिएको छ । तर, सिल गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले छलफलमा जुटेका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क्रमण बढिरहेको पालिकाले नै आवश्यकतानुरूप सिलको निर्णय गर्नसक्ने बताए । ‘जिल्ला कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सिल गर्न थालिएको हो । सिलको अवधिमा अत्यावश्यक सूचीका सवारी साधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको, बजार बन्द गरिएको र सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले बताउनुभयो।
झापामा विगत दुई सातादेखि कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । बजार र सरकारी कार्यालयहरुमा सर्वसाधारणको घुइँचो बढेको थियो । हरेक पालिकाले सात दिनको अवधि तोकेर सिलको घोषणा गरेका छन् । राजमार्गबाहेक भित्री सडकमा सार्वजनिक तथा निजी यातायातका साधन गुडेका छैनन् ।
जिल्लामा सबैभन्दा पहिले बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रमा सिल घोषणा गरेको थियो । त्यसपछि आइतबार, सोमबार र बुधबारदेखि थप पालिकामा सिल गरिएका छन् । पछिल्लो २४ घण्टामा झापामा २६६ कोरोना सङ्क्रमित थपिएका छन् । पालिकाहरु सिल गरिए पनि पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधनमा भने रोक लगाइएको छैन ।