विराटनगर । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा मोरङमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सचेत रहन जिल्लावासी नागरिकलाई आग्रह गरेको छ । संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बन्दै जाँदा संक्रमितको संख्या बढ्दै गएकोले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार एक सन्देश जारी गर्दै नागरिकले निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमणको जोखिम सकिए झैं गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको उल्लेख गरिएको छ । जोखिमबाट सुरक्षित हुनका लागि अनिवार्य मास्क लगाउनु पर्ने, भौतिक दुरी कायम गरेर मात्रै हिँडडुल गर्नुपर्ने र हात धुनुपर्ने तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने कुरालाई अनिवार्य ख्याल गर्न मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले अनुरोध गर्नु भएको हो ।
अनावश्यक भीडभाड, नाराजुलुश, सेमिनार, पार्टी, विवाह, ब्रतबन्ध र अन्य सामाजिक कार्यमा सावधानी नपनाइएको भन्दै यसले जोखिम बढाउँदै लगेकोले पुनः निषेधाज्ञा लगाउनु पर्ने अवस्था आउनसक्नेतर्फ सचेत रहन आग्रह गरिएको छ । नियन्त्रणका लागि निषेधाज्ञा नै अन्तिम विकल्प नरहेको बताउँदै त्यसका लागि स्वास्थ्य सुरक्षा मापदण्डलाई ख्याल गरिनुपर्ने प्रमुख जिल्ला अधिकारी निरौलाद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ ।
संक्रमणको जोखिम बढेसँगै गएको बैशाख १८ गतेदेखि विभिन्न चरणका निषेधाज्ञा जारी गरिएपनि साउन लागेपछि त्यसलाई केहि खुकुलो बनाउँदा जोखिम बढ्दै गएकोप्रति सचेत रहन आग्रह गरिएको हो । स्थानीय प्रशासनले भीडभाड हुने स्थानमा सहभागीता नजनाउन आग्रह गर्दै अत्यावश्यक काममा निस्कदाँ अनिवार्य मास्कको प्रयोग गरेर भौतिक दुरी पालना गर्न अनुरोध गरेको छ ।
मोरङमा २ हजार ४६० जना अझै संक्रिय संक्रमित रहेका छन् । जसमा १ हजार १४३ महिला र एक हजार ३७१ जना पुरुष रहेका छन् । हालसम्म जिल्लामा १३ हजार ९९४ महिला र १९ हजार २३० जना पुरुष कोरोनाबाट संक्रमित भईसकेका छन् । जिल्लामा ११२ जना महिला र ३११ ज्ना पुरुषको कोरोना संक्रमणबाट निधन भईसकेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा मोरङमा ११७ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत बैशाखमा निषेधाज्ञा जारी हुँदाताकाको हाराहारी हो । मोरङको उर्लाबारी र लेटाङ नगरपालिकामा संक्रमणको जोखिम उच्च भएको भन्दै स्थानीय तहले सील गरेर नियन्त्रणको प्रयास गरिरहेका छन् ।