विराटनगर
विराटनगरमा आर्थिक विकास र आर्थिक पत्रकारिता विषयक एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम उद्योग संगठन मोरङ, आर्थिक पत्रकार समाज नेपाल (सेजन ), पत्रकार महासंघ प्रदेश नम्बर १ र मोरङ शाखाद्धारा संंयुक्त आयोजनामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा विराटनगरलाई केन्द्र बनाएर आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका २० जना पत्रकारहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रमका सहजकर्ताद्वय सेजनका अध्यक्ष भिम गौतम र निवर्तमान अध्यक्ष पुष्पराज आचार्यद्वारा सहभागी पत्रकारहरुलाई आर्थिक पत्रकारिता, यसले समेटने क्षेत्र, व्यावसायिक आचारसंहिता, आर्थिक विकास र उद्योग व्यावसायको विकासक्रम बारे अनुशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सेजनका अध्यक्ष गौतमले पत्रकार र मिडिया हाउसका सम्पादकको सक्रियताका अभावमा तथ्य र तथ्यांकमा आधारित आर्थिक पत्रकारिता समाप्त हुँदै गएको बताउदैं उनले समाचार र विज्ञापनबिचको असन्तुलनको अभावमा आर्थिक पत्रकारिता संकटमा पर्दै गएको औंल्याए । प्रदेश र जिल्लाहरुमा समेत आर्थिक पत्रकारितालाई बिटको रुपमा स्थापित गराउन नैतिक अनुशासन हुनुपर्ने बिषयमा उनले जोड दिए ।
सोे अवसरमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले निजी क्षेत्र र पत्रकारबिचको सहकार्यलाई थप सशक्त बनाउन तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले निजी क्षेत्रको परिमार्जित धारणालाई प्रभावकारी ढंगबाट पस्किन स्वयंमलाई अपडेट बनाई राख्नुपर्ने धारणा व्यक्त गरे । उनले उद्यमशीलताको विकासमा पत्रकार जगतकोे ठुुलो सहयोग रहेको जानकारी दिए । प्याकुरेलले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आफुहरुले यस कार्यक्रमको आयोजना गरेको जानकारी दिए।
२०४६ सालको परिवर्तनपछि आर्थिक पत्रकारिताको विकासक्रम सुरु भएपनि स्थानीय सञ्चारमाध्यमहरुको अग्रसरताको अभावमा हाल पनि आर्थिक पत्रकारिता संघीय राजधानीमै सिमित रहेको सेजनले जनाएको छ । समाचारजन्य सामाग्रीहरु व्यापारिक हितको माध्यम बन्न थालेपछि आर्थिक पत्रकारिताको अस्तित्व ओझेलमा पर्दै गएको सेजनका निवर्तमान अध्यक्ष पुष्पराज आचार्यले बताए । उनले विज्ञापनको आधारमा समाचार लेखनमा विभेद हुन थालेपछि आर्थिक पत्रकारिताको थप विकासमा चुनौती थपिएको जानकारी दिए । उनले यसको समाधानका लागी जवाफदेही पत्रकारिताको खाँचो रहेको जिकिर गरे ।
यदि हामीले कार्यक्षेत्रमा समेत आर्थिक पक्षलाई बिटका रुपमा प्रयोग गर्न सक्यौं भने मात्र हाम्रा वरपर हुने आर्थिक गतिविधिहरुलाई समेट्न सक्छौ र श्रोता दर्शकमाझ देशमा भइरहेका आर्थिक कारोबारहरुका बारेमा जानकारी गराउन सफल हुने कुराको पनि जानकारी दिए उनले। कार्यक्रममा भने विराटनगरलाई केन्द्र बनाएर आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका २० जना पत्रकारहरुले तालिम लिएका थिए ।