खोटाङ
कुनै बेला आरनमा फलाम तताएर आकार निकाल्न बुबालाई सघाउने काम हुन्थ्यो गङ्गाबहादुर विश्वकर्माको । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गङ्गाबहादुरले बुवाले आरनमा गरेको परिश्रमको कमाइले परिवारको सम्पूर्ण गर्जो टार्नुपर्ने बाध्यता थियो कुनै बेला । कमजोर आर्थिक अवस्थाको परिवारमा जन्मनुभएका उहाँ पनि बुवासँगै कैयौँपटक फलाम पोल्ने कोइला बनाउन जङ्गल जानुपथ्र्याे । उसबेला कैयौँपटक हम्मरले फलामको लिहीमा (तताएको फलाम कुट्ने ठाउँ) फलामलाई नै बजार्नुभयो गङ्गाबहादुरले पनि । आरनमा फलाम कुट्दाकुट्दै बितेको थियो उहाँको बाल्यकाल ।
बाली (काम गरेवापत दिइने अन्न)मा काम गरेर परिवार पाल्नुपर्ने अवस्थाबाट गङ्गाबहादुर अहिले खोटाङको उम्दा व्यवसायिक कृषक बन्नुभएको छ । आधुनिक तरिकाले व्यावसायिक कृषि खेती गर्न शुरु गर्नुभएका उहाँले आफूलाई जिल्लामा अहिले नमूना कृषकका रूपमा उभ्याउनुभएको छ ।
आफ्नै बुवाको थातथलो सोल्मामा ‘खोटाङ कृषि फार्म’ खोलेर वार्षिक लाखौँ कमाइ गर्न थाल्नुभएको छ । घर वरिपरि १० वटा प्लास्टिक टनेल बनाउनुभएका गङ्गाबहादुरले मौसम अनुसार विभिन्न किसिमका तरकारी उत्पादन गर्नुहुन्छ ।
पछिल्लो समय हाइटेक प्रविधिसमेत प्रयोग गरेर आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनुभएका उहाँले कमाइको हिसाबले अहिले निकै राम्रो आम्दानी लिनसक्ने हुनुभएको छ । आरनबाट शुरु भएको बाल्यकाल विस्तारै स्कूले जीवनमा परिणत भएको थियो उहाँको । बाल्यकालमा बाँसुरी बजाउने, बनाउने र गीत गाउने सोख थियो । हुन त सोल्माको त्यो दलितबस्तीमा तिहारमा मारुनी नाच राम्रै हुने भएकाले पनि उहाँलाई सङ्गीतको मोह बढेको हो ।
स्कूले जीवन पार गरेपछि उहाँ रेडियोकर्मी बन्नुभयो । जिल्लाको पहिलो रुपाकोट सामुदायिक रेडियोमा गङ्गाबहादुरले कृषिको गोरेटो कार्यक्रममार्फत आफ्नो यात्रा अगाडि बढाउनुभयो । रेडियोमा कार्यक्रम गर्दागर्दै उहाँलाई बजार व्यवस्थापनको भूमिका दिइयो । त्यही बेलाबाट उहाँको व्यावसायिक सोचको विकास भएकाले विज्ञापन शाखाको समेत जिम्मा लिएर काम गर्नुभयो ।
रेडियोमा कृषिको गोरेटो कार्यक्रम र घरमासमेत सामान्य कृषि कर्ममा उहाँको दिलचस्पी बढ्यो । रेडियोमा काम गर्दागर्दै गङ्गाबहादुरले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी सरिता राईसँग अन्तरजातीय विवाहा गर्नुभयो । रुढीवादी सोच बोकेको समाजलाई चुनौती दिएर वैवाहिक बन्धनमा बाँधिएपछि उहाँहरुलाई काम गर्ने थप हौसला मिल्यो । आफ्नो कृषिकर्मलाई व्यावसायिक हिसाबले अगाडि बढाउँदा उहाँको कामले विस्तारै सफलता हासिल गर्दै गयो । कृषिसम्बन्धी विभिन्न पुस्तकहरु पढ्ने जाँगरले उहाँले पहिल्यैदेखि सिटिइभिटीले दिने तालिमहरु लिनुभयो । उहाँसँग सीप त भयो तर, आधुनिक कृषि व्यवसायमा लगानी गर्ने स्रोत भएन ।
कुनैबेला वैदेशिक रोजगारीमा जान राहादानी बनाएर त्यसबारे जानकारी लिनुभयो । जापानको लागि प्रक्रिया पनि अगाडि बढाउनुभयो । तर गत स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा उहाँ नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएपछि जापान जाने सपनामा ब्रेक लाग्यो । करिब रु सात÷आठ लाख फसाइसक्नुभएका उहाँको भिसा आउने तयारी थियो ।
जनप्रतिनिधि भएपछि गाउँमा उहाँको कृषि पेशा त छँदै थियो अर्को समाजसेवाको पाटो पनि थपियो । त्यसपछि उहाँ आफ्नो कृषिकर्म र राजनीतिक धर्म तथा समाजसेवाको मर्मलाई मर्न नदिने प्रणका साथ जिल्लामा नै रहेर काम गर्न थाल्नुभएको छ । उहाँको कामप्रतिको लगावलाई मूल्याङ्कन गर्दै कृषि ज्ञान केन्द्र खोटाङले फार्म निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोगसमेत गरेको छ । उहाँको श्रीमतीसँगै एक छोरा र एक छोरी छन् ।
उहाँको सबै काममा घरपरिवारको सहकार्य छ । बिहान उठेर तरकारी बारीमा जाने, बजारमा जाने समय भए नभएको अवस्था हेर्ने, पाँचवटा बङ्गुर, दुईवटा भैँसीलाई दाना र घाँसको जोहो मिलाउने । उहाँको फार्ममा अहिले उत्पादन दिन थालेका दुई हजार ५०० बोट गोलभेडा छन् । हाइटेक प्रविधि अपनाएर बनाइएको फार्मबाट गङ्गाबहादुरले दिक्तेल बजारमा दैनिक ७० देखि १०० केजीसम्म गोलभेडा बिक्री गर्नुहुन्छ ।
प्रति केजी रु ७० मा बिक्री भइरहेको गोलभेडाबाट मात्रै खर्च कटाएर मासिक रु ७५ हजारभन्दा बढी आम्दानी हुन्छ । फार्ममा गोलभेडासँगै च्याउ, बन्दा, काउली, भिण्डी, सिमी, अकबरे खुर्सानी लगायत विभिन्न तरकारी उत्पादन हुन्छ ।
बाहिरी जिल्लाबाट आयातित तरकारीलाई बिस्थापित गर्न र जिल्लामै अर्गानिक उत्पादित कृषि उपजलाई बजारीकरण गर्न अभियान शुरु भएको छ । “बजारमा अर्गानिक कृषि उपजको माग बढेको बढ्यै छ । उत्पादनले थेग्न सकेको छैन”, उहाँले भन्नुभयो, “आफ्नो फार्मबाट उत्पादित गोलभेडाले बजारको माग धान्न धौ–धौ भएको छ । केही समयपछि थप बिस्तार गर्ने योजना बनाएको छु ।”
पछिल्लो पाँच वर्षको अवधिमा कृषि, राजनीति र अध्ययनलाई सँगसँगै अगाडि बढाउनुभएका गङ्गाबहादुरले समाज शास्त्रमा स्नातकोत्तर गर्दै हुनुहुन्छ । दश स्थानीय तह रहेको जिल्लामा यातायात अवरुद्धका कारण जिल्लाकै अन्य कृषकले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन सकिएको छैन । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको कृषकहरुको भनाइ छ ।