वर्षौँपछि तीनपाटनमा खानेपानीको समस्या हट्यो

<span class='c1'>वर्षौँपछि  तीनपाटनमा</span> <span class='c2'>खानेपानीको समस्या हट्यो</span>

सिन्धुली

बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने तीनपाटन गाउँपालिका–१ छरछरेवासीको बाध्यता अन्त्य भएको छ । पुस्तौँदेखि खानेपानीको अभावमा जीवनयापन गर्दै आएका छरछरेवासी यतिबेला घर नजिकैको धारामा पानी आउँदा हर्षित भएका छन् ।

विगतमा पानीको पालोमा कुवा तथा पँधेरामा बास बसेर एक गाग्री पानीको जोहो गर्न पनि दिन–रात बिताउनुपर्ने बाध्यतामा रहेका छरछरेवासीलाई वडा तथा गाउँपालिकाको पहलमा नेपाल स्वास्थ्यका लागि पानी नेवाले लिफ्टबाट खोनेपानी पुर्याइदिएपछि खानेपानीको सुविधा मिलेको हो ।

पिउने पानीको जोहो गर्दै वर्षौँ बिताएका नागरिक यतिबेला आँगनको धारामा पानी थाप्न पाउँदा उनीहरुमा खुशीको सीमा छैन । स्थानीय सरकारको पहलमा धारामा पानी थाप्न पाउँदा बल्ल सरकार भएको अनुभूति गर्न पाएका छन् । “एक छाक खाना बनाउन र धित मर्ने गरी पिउने पानीको हाहाकारमा जीवन गुजारा गर्दै आएका थियाँै”, स्थानीयवासी मनमाया कार्कीले भन्नुभयो, “हिजो हिलो निचोरेर पानी खान्थ्याँै, कुवामा झगडा पर्दथ्यो, कुवामा नै दिनरात बिताएर एक गाग्री पानीको जोहो गर्दथ्यौँ ।”

यसअघि प्लान नेपालले सिमेन्टको घ्याम्पो निर्माण गरिदिएको थियो । घ्याम्पोमा बर्सातका बेला जम्मा भएको पानीले वर्ष दिनलाई पु¥याउनुपर्दथ्यो । उहाँले भन्नुभयो, “छानाको पानी लगेर घ्याम्पोमा जम्मा भएपछि खानेपानीमा ताल्चा लगाएर राख्ने गरेका थियौँ, यसले हामीलाई राहत पु¥याएको थियो, अहिले घरै नजिकको धारमा २४सै घण्टा पानी आउँदा स्वर्गको अनुभूति गर्न पाएका छाँै ।”

विगतमा पानी पर्याप्त नहुँदा नुहाउने र लुगा धुने व्यथा यतिबेला कथा बनेको स्थानीयवासी रुद्रबहादुर खड्काले बताउनुभयो । “मानिस र पशु दुवैले धित मर्ने गरी पानी पिउन पाएका थिएनौँ, यति मात्र होइन, हाम्रा गाउँमा छोरी दिन पनि मान्दैन थिए, विवाहजस्ता कार्य गर्दा खोला धाउनुपर्दथ्यो, यस्तो अवस्थामा रहेका हामीलाई नेवाले खानेपानी ल्याइदिएपछि स्वर्गानुभूति भएको छ”, उहाँले भन्नुभयो, “हिलो निचोरेर आउने धमिलो पानीले श्वास अल्झाएका हामी यतिबेला धारमा पानी थापेर वर्षौँदेखि नमरेको धित मार्न पाएका छौँ, खानेपानीले सुविधासम्पन्न भएका छौँ ।”

लामो समयदेखि पानीको समस्या झेल्दै आएका नागरिकलाई केही गैरसरकारी संस्थाले खानेपानी जोहो गर्नका लागि सिमेन्टको घ्याम्पो बनाइदिएका थिए । आकाशबाट परेको पानी घरको बलेसीबाट सङ्कलन गरी घ्याम्पोमा सङ्कलित पानीले वर्ष दिन बिताउनुपर्ने बाध्यता थियो तर यतिबेला वडा कार्यालयको पहल र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को साझेदारीमा सोलार लिफ्ट प्रविधिबाट सबैलाई पानी वितरण गरिँदै आएको वडाध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । वडामा जनप्रतिनिधि आएपछि छरछरे, चिसापानी, हात्तीसार, क्वान्द्रे, भुकुने, नेपाले शिखर लगायतका स्थानमा वर्षौँदेखिको खानेपानी समस्या यस वर्षबाट समाधान भएको उहाँको भनाइ छ । यसबाट १०० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् ।

डोकोमा गाग्री बोकेर घण्टौँपछि घर आउने स्थानीयवासीको यतिबेला पानीका लागि खर्चनुपर्ने समयको बचत भएको उहाँले बताउनुभयो । बेलघारी–१ निवासी सयौँ घरपरिवारले यतिबेला स्वच्छ पिउने पानी पाएको उहाँले बताउनुभयो । “पानी स्वास्थ्यका लागि अतिआवश्यक हो, त्यहाँको समस्या हामी आएको केही वर्षपछि विभिन्न निकायसँग पहल गरेर समाधान गरेका छाँै”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्