विराटनगर । प्रदेश १ सरकार, सामाजिक विकास मन्त्री उषाकला राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ गौरवको योजना भएको बताउनु भएको छ । उहाँले सामाजिक विकास मन्त्रालयले यसलाई संस्थागत गर्ने नेतृत्व गरेपनि यो प्रदेश सरकारकै योजना रहेको बताउनु भएको हो ।
सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्राण्डिङ्ग तथा बजारीकरणका लागि गठन गरेको ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण गरेको छ । त्यहि कार्यक्रममा मन्त्री राईले प्रदेश १ मा रहेको स्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा ल्याईएको बताउनुभयो ।
कानुन अड्चनहरुलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्ने मन्त्री राईले बताउनुभयो । प्रतिवेदन ग्रहण गर्दै उहाँले भन्नुभयो,‘ समृद्धिको ढोका प्रदेश १ सरकारले खोल्यो ।’
प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन सुरु गर्ने मन्त्री राईको भनाई छ । उहाँले बनमारा मासेर कोदो लगाईने बताउनुभयो । गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोपीने छ, मन्त्री राईले भन्नुभयो–नेपालको उत्पादनलाई छिमेकी देशहरु भारत र चीनमा लगेर बजारीकरण गरिनेछ ।
नेपाली घरेलु मदिराको उत्पादन सुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने उहाँको दावी छ । उहाँले गुणस्तरीय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञ लगायतको टिम निर्माण गरिने जानकारी दिनुभयो ।
कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्सोमले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ बृहत अवधारणा भएको बताउनुभयो । उहाँले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरु, जनप्रतिनिधि लगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयो ।