काठमाडौं । नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरी वेलनेस पर्यटनको विशिष्ट गन्तव्य बनाउनुपर्नेमा जोड दिइएको छ ।
सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवद्र्धन गर्ने तयारी भइरहेका बेला नेपाल पर्यटन बोर्डले बुधबार काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय विज्ञ तथा पर्यटन क्षेत्रका सरोकारवालाले नेपालको वेलनेस पर्यटन आफ्नै मौलिक पहिचानमा आधारित हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ निगेल फ्र्याङ्कलिनले नेपालसँग विश्व वेलनेस पर्यटन बजारमा छुट्टै पहिचान स्थापित गर्ने पर्याप्त आधार रहेको बताए । उनले नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदालाई प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
दुई दशकभन्दा लामो समयदेखि विश्वका प्रतिष्ठित लक्जरी होटल तथा वेलनेस संस्थाहरूसँग काम गरेका फ्र्याङ्कलिनले नेपालको वेलनेस पर्यटन प्रवद्र्धन गर्दा अन्य देशको अवधारणाको नक्कल गर्न नहुने बताए ।
उनले नेपालका मन्दिर, संस्कृति, परम्परा र समुदायसँग जोडिएका अनुभवलाई पर्यटनसँग जोडेर अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्नुपर्ने धारणा राखे । वेलनेस पर्यटनलाई स्पा, मसाज र आराममा मात्र सीमित नगरी आत्मिक शान्ति, प्रकृतिसँगको सम्बन्ध र मौलिक जीवनशैलीसँग जोड्नुपर्ने उनको भनाइ थियो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक लक्ष्मण गौतमले वेलनेस पर्यटन विकास गर्दा मौलिक सम्पदाको संरक्षण र आर्थिक लाभबीच सन्तुलन कायम गर्नुपर्ने बताए ।
उनले वेलनेस पर्यटनले मानिसलाई आफैँसँग जोडिन, आफ्नो अस्तित्व बुझ्न र आत्मिक शान्ति प्राप्त गर्न सहयोग गर्ने उल्लेख गर्दै नेपालको संस्कृति, प्रकृति र जीवनशैलीलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिने बताए ।
गौतमले अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान मुख्यतः हिमाल र पर्वतारोहणमा सीमित रहेको उल्लेख गर्दै वेलनेस पर्यटनको छुट्टै पहिचान स्थापित गर्न आवश्यक रहेको बताए । त्यसका लागि नेपालको मौलिक विशेषतालाई अन्तर्राष्ट्रिय बजारले बुझ्ने गरी प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सन् २०२७ को नेपाल वेलनेस पर्यटन वर्षको तयारी, अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान निर्माण तथा वेलनेस पर्यटन विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्यका विषयमा छलफल भएको थियो ।