विराटनगर । स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा नगरेको भन्दै प्रदेश सामाजिक विकास मन्त्रालयले स्वीकृति नदिदाँ मृर्गौला रोगीको लागि डायलासिस गर्दै आएको यूनिट बन्द भएको छ । विराटनगर ७ स्थित रामलाल आँखा अस्पताल परिसरभित्र संचालनमा आएको हेमोडायलाइसिस सेवा यूनिट बन्द भएको हो ।
प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले मापदण्ड पूरा नगरेको भन्दै स्वीकृति दिन अस्वीकार गरेपछि मंगलबारबाट सेवा अनिश्चितकालको लागि बन्द गरिएको हो । राष्ट्रिय मिर्गौला उपचार केन्द्र बनस्थली, काठमाण्डौं रोटरी क्बल अफ विराटनगर र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको सहकार्यमा २०७२ माघ १५ गतेदेखि विपन्न परिवारका मिर्गौला रोगीहरूको लागि निःशुल्क डायलाइसिस सेवा सुचारू भएको थियो ।
तर, सेवा सञ्चालनका लागि मापदण्ड पूरा नगरेपछि मन्त्रालयले स्वीकृति दिन अस्वीकार गरेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागरराज प्रसाँईका अनुसार मृगौला रोगीको डायलासिस केन्द्रमा विशेषज्ञ चिकित्सक अनिवार्य आवश्यक हुन्छ । त्यस बाहेक सेवासँग सम्बन्धित उपचार प्रदान गर्न सक्ने ५० शैयाको आफ्नै वा सम्बन्धन प्राप्त अस्पताल आवश्यक पर्दछ । मृगौला रोगीको डायलासीस गर्नका लागि संघीय सरकारले अनुदान रकम प्रदान गर्दै आएको छ । त्यसका लागि सम्बन्धित प्रदेश सरकारको कानुन अनुसार दर्ता भएका केन्द्रमा उपचार गराउनु पर्ने हुन्छ ।
‘एचएच रोटरी डायलाइसिस युनिट विराटनगर’ को नाममा सञ्चालित यूनिटमा एकजना नर्स बाहेक अन्य स्वास्थ्यकर्मी नभएको महाशाखा प्रमुख प्रसाँईले जानकारी दिनुभयो । गुनासो बाहिर आएपछि बुधबार मात्रै मन्त्रालयबाट अनुगमन गरिएको थियो, महाशाखा प्रमुख प्रसाँईले भन्नुभयो–मन्त्रालयलाई बुझाउनु कर्मचारी विवरण, उपचार गरेका बिरामीको विवरण, सेवा प्रवाहको क्षमता र आवश्यक मापदण्डको विषयमा कुनैपनि प्रतिवेदन बुझाइएको छैन । यूनिट सञ्चालकले आवश्यक प्रक्रिया पूरा नगरी स्वीकृतिका लागि छ महिना अगाडी मन्त्रालयमा एउटा निवेदन दिएको थियो । तर, सेवा प्रवाहसँग सम्बन्धित प्रतिवेदन भने बुझाउन आनाकानी गर्दै आएको थियो ।
मन्त्रालयले मापदण्ड पूरा गर्नुपर्ने बताएपछि सूचना टाँस गरेर सेवा बन्द भएको जानकारी गराइएको छ । ‘प्रतिष्ठानको सहकार्यमा संचालित एचएच रोटरी डायलाइसिस यूनिट विराटनगरले प्रक्रिया पूरा नगर्दासम्म मन्त्रालयले स्वीकृति दिन नसक्ने जनाएको छ ।
विगत २०७२ माघ १५ गते देखि संचालन भएको सेवालाई २०७८ भदौ १ गतेबाट बन्द गरिएको व्यहोरा अनुरोध गर्दछौं,’ यूनिटका प्रशासकीय उपनिर्देशक बिमल बराल र नर्सिङ निर्देशक शुभद्रा रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । सञ्चालनमा आएको तीनवर्षपछि मृर्गौला रोगीहरुको डायलासिस गर्दै आएको यूनिट बन्द हुँदा सेवाग्राही भने मारेमा परेका छन् ।
विपन्न वर्गका विरामी मारमा परेको नियमित डायलाइसिस गर्दै आएका झापा शिवसतासीका ४३ वर्षिय बुद्धिबल शेर्माले गुनासो गर्नुभयो । ‘विगत चार वर्षदेखि रामलाल आँखा अस्पतालभित्र रहेको हेमोडायलाइसिस सेवामा आएर हप्तामा दुईपटक निःशुल्क डायलाइसिस गर्दै आएको थिएँ,’ अस्पताल परिसरभित्र भेटिएका उहाँले भन्नुभयो, ‘मंगलबारदेखि सेवा बन्द हुने भएपछि समस्यामा परेको छु । हामीजस्तो दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने रोगीलाई समस्या हुनेभयो ।’
चार वर्ष अगाडि मिर्गौला फेल भएपछि लिम्बु हप्तामा दुईपटक डायलाइसिस गर्न विराटनगर आउने गर्नु भएको थियो । निःशुल्क डायलाइसिस सेवा बन्द हुने भएपछि चर्को शुल्क असुल्ने निजी हस्पिटलमा जानुपर्ने अवस्था आएको बाबुलाई लिएर आएकी छोरी सनिलाको गुनासो छ । अब निजीमा डायलाइसिस गर्दा थोरैमा पनि एक पटकमा ७ हजार रुपैयाँ जम्मा गर्नुपर्ने र त्यसबाट थप उपचारमा समस्या हुने सनिलाको गुनासो थियो ।
चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकसहित ८ जना कर्मचारीले ५ शैयामा सेवा संचालनमा ल्याइएको थियो । जसमा हप्तामा दुईपटक हेमोडायलाइसिस लिने विरामी ३० देखि ४० जना थिए । यता प्रतिष्ठानका प्रशासकिय उपनिर्देशक बरालले प्रदेश सरकारले स्वीकृति दिन ढिलाइ गरेको कारणले डायलाइसिस सेवा बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँका अनुसार छुटै इजाजत पत्र लिएर डायलाइसिस सेवा संचालन गनिुपर्ने प्रावधान आएपछि मन्त्रालयमा निवेदन दिएपनि मापदण्ड नपुगेको भन्दै रोकिएको थियो ।
महाशाखा प्रमुख प्रसाँईले प्रदेश सरकारको कानुन अनुसार मापदण्ड पूरा गरेर स्वीकृति नलिदाँसम्म डायलासिस यूनिट सञ्चालन गर्न मिल्दैन । त्यसका लागि व्यवस्थापन पक्षलाई सबै जानकारी गराईसकिएको प्रसाँईको भनाई छ ।