विराटनगर । सुनसरी प्रशासनले भोली शुक्रबारदेखी धरानमा सार्वजनिक यातायता समेत चल्न नदिनेगरी कडा रुपमा निषेधाज्ञा गर्न लागेपछि धरानका श्रमिक आन्दोलित भएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा १० दिन सम्म कडा रुपमा निषेधाज्ञालाई लागु गर्न लागेपछि श्रमिक विरोधमा उत्रिएका हुन्।
भोली भदौ ४ गते देखि १३ गतेसम्मका लागि जारी आदेशमा औषधी पसलबाहेक सबै बजार पसल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जारी गरेको निषेधाज्ञामा कोसी राजमार्ग भएर चल्ने सवारी साधनलाई धरान क्षेत्रमा रोकेर यात्रु ओराल्न वा चढाउन पूर्ण रूपमा निषेध गरिएको छ।
त्यसैको विरुद्धमा धरानका व्यापारी र श्रमिक आन्दोलित भएका छन्। लामो समयको महामारी र लकडाउनका कारण आर्थिक अभाव भोग्नुपरेको भन्दै उनीहरू सडकमा उत्रिएका हुन्।
धरानका मेयर तिलक राईलाई श्रमिकले लकडाउनको निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। गरिखान देऊ, लकडाउन गर्न पाइँदैन, श्रमिकलाई मार्न पाइँदैन लेखिएका ब्यानर तथा प्ले कार्ड बोकेर श्रमिक प्रदर्शनमा उत्रिए। गरिबलाई न्याय दे, गरिब मारा लकडाउन बन्द गर भन्ने नारा लगाए मेयर राईविरुद्ध चर्को नाराबाजी गरेका थिए ।