विराटनगर । निषेधाज्ञाको बेला विराटनगरमा रातको समयमा अनावश्यक हिँड्ने व्यक्तिलाई प्रहरीले कडा कारवाही गर्न थालेको छ । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा हिँड्ने व्यक्तिहरु माथि प्रहरी कडा कारवाहीमा उत्रेको हो ।
निषेधाज्ञा उल्लंघन गर्दै गत भदौ २ गते साथीको जन्मदिनको पार्टीबाट घर फर्कने क्रममा डिउटीमा खटेका प्रहरीले एक युवकलाई निर्घात कुटपिट गरेको छ । राति ११ बजे विराटनगर ५ स्थित भृकुटी चोकमा साथीको बर्थडे पार्टी खाएर घर फर्किँदै गरेका मोरङको जहदा गाउँपालिका ५ का मुकेश मण्डल र बिक्रम कामतलाई वडा प्रहरी (क) बाट गस्तिमा खटिएको प्रहरी टोलिले निर्घात कुटपिट गरेको पिडित मण्डलले आरोप लगाए ।
उनले प्रहरीले बुट र लाठीले अन्धाधुन्ध हिर्काएको बताए । पिडित मण्डलको शरिरका विभिन्न भागमा निलडाम र चोट छ । भृकुटी चोकका साथी श्याम रामको बर्थडे पार्टीमा पुगेर दुवैजना मोटर साईकलमा फर्कँदै गर्दा गस्तिमा रहेको प्रहरी टोलीले रोकेर कागजात मागेको र आफुले नबोकाले सोही निहुँमा निर्घात कुटपिट गरेको आवर विराटनगरसंग भने,‘हामी राती करिब ११ बजे मोटरसाइकलमा घर फर्किँदै थियौँ ।’ पुलिसले चेकजाँज गरेर कागजपत्र माग्यो । मोटरसाइकल भिनाजुको भएकाले कागजपत्र थिएन ।’ कागजपत्र देखाउन नसकेको भन्दै चोरेर ल्याईस भन्दै कुटपिट गरेको मण्डलले सुनाए ।
आफुहरुलाई राति ११ बजेदेखि विहान ३ बजेसम्म सडकमै उभ्याएको र यातना दिएको आरोप लगाए । तर, अभिभावकको डरले हालसम्म कसैलाई सो कुरा नभनेको र आइतबार घरमा नुहाइरहेका बेला आमाले शरिरमा निलडाम भएको देखेपछि प्रहरीले कुटपिट गरेको भन्दै अभिभावकलाई सुनाएका थिए ।
सो कुरा अभिभावकले थाहा पाएपछि आईतबार घाईते मण्डलका बुबा राजेन्द्र मण्डलले कुटपिट गर्ने प्रहरी माथि कारवाहीको माग गरेका छन् । गल्ति भए कानुन बमोजिम सजाय गर्नुपर्नेमा दादागिरि शैलीमा मरणासन्न हुनेगरी कुटपिट गर्नु गलत भएको मण्डलको भनाई छ ।
यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जर्नादन जिसीले भने रातको समयमा अनावश्यक हिडडुल गर्ने माथि कडाई गरिदै आएको छ ।
राती ८ बजेपछि अनावश्यक हिडडुल गर्ने जो कोहीलाई प्रहरीले सोधपुछ गर्छ नै एसपी जिसीले भने,‘मण्डलको विषयमा चेक जाँचका क्रममा मोटरसाइकलको कागजपत्र पनि नभेटिएपछि सामान्य सोधपुछ प्रहरीले गरेको रहेछ । मोटरसाईकलमा सवार दुवैले मादकपर्दाथ सेवन गरेकाले प्रहरीसँग नै भनाभन हुदा सामान्य प्रहरीले हिर्काएको हुन सक्छ ।’ घटना केहीदिन अगाडी भएकाले थप यसबारे डिउटीमा खटिएका प्रहरी र पिडीत मण्डलसँग सोधपुछ गर्ने जिसीले जानकारी दिए ।