लक्ष्मणदेव पन्त/गाेरखापत्र
महेन्द्रनगर बीस वर्ष अघिसम्म गुमनाम थियो, खल्लामुसेटी । २०५८ सालमा माओवादी खोज्दै पहिलो पटक प्रहरी पुगेपछि गुमनाम गाउँबारे राज्यले जानकारी पायो । पछिल्ला पाँच वर्षमा खल्लामुसेटीले विकासका प्रयासमा काँचुली फे-यो ।
बाटो, बिजुली, सञ्चार सुविधा पुगेपछि खल्लामुसेटीवासीको भारतीय परनिर्भरता हटेको थियो । यद्यपि, केही दिनअघिको बाढीले खल्लामुसेटीलाई फेरि उही सेवा र सुविधाविहीन अनकन्टार गाउँमा परिणत गरिदिएको छ । भीमदत्त नगरपालिका–९ को उत्तर चुरे फेदीको सुन्दर गाउँ यतिबेला टुकीको सहारामा छ ।
यो बस्ती २०४२ सालमा बसेको हो । त्यसयताका कठिन दिनहरू सम्झनसमेत गाउँले चाहँदैनन् । त्यतिबेला सदरमुकाम महेन्द्रनगर आउजाउ सहज थिएन । टायरको ट्युबमा महाकाली तरेर किनमेल र रोजगारीका लागि भारतीय बजार टनकपुर र पिथौरागढ पुग्नु बाध्यता थियो । स्थानीय गणेश रोकाया सम्झनुहुन्छ, “ती दिनहरू त कहाली लाग्दा थिए, सम्झन मन लाग्दैन । हाम्रो गाउँको विकासमा राज्यले विस्तारै ध्यान दिँदै गएको छ ।”
स्थानीयवासी कालुसिंह खड्काका अनुसार, पछिल्लो पाँच वर्षयता मात्रै गाउँको विकासमा राज्यको ध्यान पुगेको हो । पाँच वर्षमा बाटो, बिजुली, खानेपानी र सञ्चार सुविधा पाएको अनुभव उहाँको छ । सदरमुकाम महेन्द्रनगर र नजिकको बजार ब्रह्मदेवसँग सजिलै पहुँच स्थापित भएको छ । खड्का भन्नुहुन्छ, “यसपालिको कात्तिके बाढीले हामीलाई फेरि २० वर्ष पछाडि धकेल्यो ।”
खल्लामुसेटीलाई महाकाली किनारको सडकले सदरमुकामसँग जोडेको थियो । यतिबेलाचाहिँ बाढीले पाँच किलोमिटर सडक बगाएको छ । बिजुलीको पोल ढलेका छन् । सञ्चार सुविधा अवरुद्ध छ । स्थानीय धनबहादुर खड्का भन्नुहुन्छ, “हामी फेरि उही पुरानै अवस्थामा फर्किएका छौँ ।”
जनप्रतिनिधिले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । भीमदत्त नगरपालिकाले पनि प्रभावित क्षेत्रका भौतिक पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ । सांसद डा. दीपकप्रकाश भट्ट, निरु पाल, पूर्वप्रदेश राज्यमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टलगायतले तीन घण्टा हिँडेर मुसेटीका बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी पुनर्निर्माणलाई प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको छ ।
नगरप्रमुख विष्टले सडक चाँडै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बाढीले मुसेटीका २० परिवारको धानबाली र १० घरमा पूर्ण क्षति पु-याएको छ । राज्यले पक्कै साथ दिने अपेक्षासहित स्थानीय गणेश रोकाया भन्नुहुन्छ, “राज्यको साथ सहयोगको आसमा टुकी बालेर बसेका छौँ । दुर्गम सिमानावासी हुनुको हाम्रो पीडालाई राज्यले पक्कै ध्यान देला कि ?”