विराटनगर । इन्धनमा भएको मुल्य वृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष थालेका छन् ।
नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा इन्धनको मुल्य बढाएको भन्दै विद्यार्थी संगठनहरुले संघर्ष थालेका हुन् । बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै इन्धनको मुल्य वृद्धिको विरोधमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं लगायत ६ विद्यार्थी संगठनले संघर्षको कार्यक्रम तालिका सार्वजनिक गरेका थिए ।
तालिका अनुसार विद्यार्थी संगठनहरुले तत्काल इन्धनको मुल्य वृद्धि फिर्ता लिन माग गर्दै बिहीबार दिउँसो साढे ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्तालयका सचिवलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।
शुक्रबार कात्तिक २६ गते बिहान ९ देखि ११ बजेसम्म आयल निगमका महाप्रबन्धक लगायतका कर्मचारलाई कार्यालय प्रवेश निषेध तथा घेराउ गर्ने, कात्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २ बजे खाली सिलिण्डर प्रदर्शन गर्ने, कात्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखी विरोध प्रदर्शन गर्ने र मंसिर २ गते माईतीघर मण्डलामा सडक बहस कार्यक्रम गर्ने विद्यार्थी संगठनको आगामी कार्यक्रम छ ।
नेपाल आयल निगमले भने बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एल.पी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।